दार्चुला । लगातारको वर्षा र सम्भावित बाढी–पहिरोको जोखिमलाई मध्यनजर गर्दै दार्चुला प्रशासनले जोखिममा रहेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्न थालेको छ।
प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलका अनुसार मौसमसम्बन्धी चेतावनीपछि जिल्लालाई उच्च जोखिममा राखेर स्थानीय तह, सुरक्षा निकाय तथा अन्य सरोकारवाला निकायलाई तयारी अवस्थामा राखिएको छ। व्याँस गाउँपालिका–४ मडगाउँका जोखिममा रहेका परिवारलाई स्थानीय तहको समन्वयमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उनले बताए।
मडगाउँमा पछिल्लो समय जमिन धसिने क्रम बढेपछि खर्क बस्ती पूर्ण रूपमा विस्थापित भएको छ। त्यहाँका १८ घरमा गम्भीर चिरा परेको र १० घर भत्किएको स्थानीय तहको विवरण छ। प्रभावितलाई तत्काल टेन्टमा राखिएको छ भने बस्ती पुनर्स्थापनाका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई समेत जानकारी गराइएको छ।
प्रशासनले महाकाली तथा अन्य नदी–खोला किनारका बस्ती र बजार क्षेत्रमा पनि निगरानी बढाएको छ। यसअघि अपिहिमाल क्षेत्रमा पहिरो खस्दा चौलानी (चमेलिया) नदीको बहाव प्रभावित भएकाले तटीय क्षेत्रमा समेत सतर्कता अपनाउन भनिएको थियो। नदी थप थुनिएर एक्कासि खुलेमा तल्लो क्षेत्रमा बाढीको जोखिम हुनसक्ने प्रशासनले जनाएको थियो।
सम्भावित बाढी तथा पहिरोका कारण राजमार्ग अवरुद्ध हुनसक्ने भन्दै प्रशासनले स्थानीय तहलाई आवश्यक खाद्यान्न मौज्दात राख्न भनेको छ। पौडेलका अनुसार सम्भावित सडक अवरोधलाई ध्यानमा राख्दै करिब दुई महिनासम्म पुग्ने खाद्य सामग्रीको व्यवस्थापन गर्न भनिएको छ।
विपद्का बेला उपचारमा समस्या नहोस् भनेर जिल्ला अस्पताल, गोकुलेश्वर अस्पताल तथा स्थानीय तहअन्तर्गतका स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राखिएको छ। रेडक्रसलाई पनि आवश्यक राहत सामग्री तयारी अवस्थामा राख्न भनिएको प्रशासनले जनाएको छ।
यसैबीच, दार्चुला प्रशासनले असोज ९ देखि ११ गतेसम्म अत्यावश्यकबाहेक लामो दूरी तथा रातिको यात्रा नगर्न आग्रह गरेको छ। नदी, खोला तथा पहिरोको जोखिममा रहेका क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन र आवश्यकता परे सुरक्षित स्थानमा जान प्रशासनले अनुरोध गरेको छ।











प्रतिक्रिया