काठमाडौं । बिहीबार बसेको सिद्धार्थ बैंक सञ्चालक समितिको ४८२ औं बैठकले आ.व. २०८२/८३ को वितरणयोग्य मुनाफा एवं पूँजी समायोजन कोष बाट बैंकका साधारण शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (बोनश शेयर तथा नगद लाभांश कर प्रयोजनका लागि समेत) गरी कुल २० प्रतिशतको लाभांश तथा अग्राधिकार शेयरधनीहरुलाई ८.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव गरेको छ । अग्राधिकार शेयरको लाभांश शेयर बाँडफाँड भएको मिति देखि २०८३ आषाढ मसान्तसम्म ८.२५ प्रतिशतका दरले हुन आउने नगद लाभांश (नगद लाभांशमा लाग्ने कर सहित) समानुपातिक रुपमा प्रदान गरिनेछ ।
साधारण शेयरतर्फ बैंकको हाल कायम रहेको चुक्ता पुँजी १४ अर्ब ७९ करोड ४४ लाख ७९ हजार १९५ रुपैयाँमा १० प्रतिशत बराबरको १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँ बोनस शेयर तथा १० प्रतिशत बराबरको १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो । साथै, अग्राधिकार शेयर ३ अर्ब ५० करोड रुपैयाँमा ८.२५ प्रतिशतका दरले १० करोड ७५ लाख ८९ हजार ४१ रुपैयाँको नगद लाभांश शेयर बाँडफाँड भएको मितिदेखि समानुपातिक रुपमा प्रस्ताव गरेको हो । लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात् तथा बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्र वितरण गरिने बैंकले जनाएको छ ।
बैंकले आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ४७ करोड खुद नाफा आर्जन गरेको छ र यस मुनाफा अघिल्लो वर्षको मुनाफाको तुलनामा ११ करोड अर्थात् ३.३२ प्रतिशत वृद्धि हो ।
यसैगरी, प्रतिकुल बजार अवस्थाका बावजुद बैंकले निष्क्रिय कर्जाको अनुपातलाई ३.५२ प्रतिशतमा सीमित गर्न सफल भएको छ ।
२०८३ असार मसान्तमा बैंकको चुक्ता पूँजी १४ अर्ब ७९ करोड र अग्राधिकार शेयर ३ अर्ब ५० करोड रहेको छ भने जगेडा कोष १८ अर्ब ५८ करोड रहेको छ । बैंकको नेटवर्थ ३६ अर्ब ८८ करोड पुगेको छ जुन अघिल्लो आर्थिक वर्षभन्दा ५ अर्ब ९१ करोडले वृद्धि भएको छ । यस आर्थिक वर्षमा बैंकको नेटवर्थ प्रतिशेयर २२४.८९ रुपैयाँ रहेको छ, जुन गत आवमा २१९.७७ रुपैयाँ थियो । यो गत आवको तुलनामा २.३३ प्रतिशतले वृद्धि हो । साथै, यस आर्थिक वर्षमा बैंकको प्रतिशेयर आम्दानी २२.७८ रुपैयाँ रहेको छ, जुन गत आवमा २२.७६ रुपैयाँ रहेको थियो ।











प्रतिक्रिया