२९ आश्विन २०८३, बिहिबार

इन्डोनेसियामा २४० जना सवार जहाज बेपत्ता, खोजी कार्य जारी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इन्डोनेसियाको जाभा सागरमा २४० जना सवार रहेको एक यात्रुवाहक जहाज आइतबार बेपत्ता भएको छ ।

भर्गो ट्रान्सपोर्ट नामको उक्त जहाज पूर्वी जाभा प्रान्तको सुराबायाबाट बोर्नियो टापुस्थित दक्षिण कालिमन्तान प्रान्तको बन्जारमासिन सहरतर्फ गइरहेको थियो ।

बान्जारमासिनस्थित खोज तथा उद्धार कार्यालयका अनुसार, यात्राका क्रममा उक्त जहाजको सञ्चार प्रणालीले काम गर्न छोडेको जानकारी प्राप्त भएको थियो । त्यसपछि, उद्धार निकायहरूले जहाजको अन्तिम ज्ञात स्थान पत्ता लगाई खोज कार्य सुरु गरे । अधिकारीहरूले बताएअनुसार, जहाजको अन्तिम ज्ञात स्थान जाभा सागरमा थियो, जुन बान्जारमासिनस्थित घाटबाट करिब १४८ किलोमिटरको दूरीमा पर्छ ।

अधिकारीहरूले जनाएअनुसार उक्त जहाजमा कुल २४० जना सवार थिए । उद्धार टोलीहरूले समुद्रमा जहाजको खोजी गरिरहेका छन् ।

इन्डोनेसियामा यसअघि पनि जहाज डुब्ने धेरै ठूला दुर्घटनाहरू भएका छन् ।

सन् १९८१ मा टाम्पोमास २ नामक यात्रुवाहक जहाज जाभा सागरमा डुब्दा ४३० जनाको मृत्यु भएको थियो ।

सन् २००६ मा खराब मौसमका कारण जाभा सागरमा सेनोपाटी नुसान्तारा नामक यात्रुवाहक जहाज डुब्दा दुर्घटनामा ४०० भन्दा बढी मानिसहरू बेपत्ता भएका थिए । सन् २००७ मा लेभिना १ जहाजमा आगलागी भई डुब्दा ५० जनाभन्दा बढी मानिसको मृत्यु भएको थियो ।

सन् २०१८ मा दक्षिण सुलावेसीको तट नजिक लेस्तारी माजु नामक जहाज डुब्दा ३६ जनाको ज्यान गएको थियो ।