काठमाडौं । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको गेट बाहिर महिलाले शिशुलाई जन्म दिएको घटनामा उक्त समयमा ड्यूटीमा रहेका कर्मचारी निलम्बनमा परेका छन् ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ड्यूटीमा रहेका कर्मचारीलाई निलम्बन गरिएको र छानबिन अघि बढाएको जानकारी दिएकी हुन् ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले उक्त घटनालाई सरकारले गम्भीरतापूर्वक लिईं आवश्यक छानबिन अघि बढाइएको बताएकी हुन्।
यस्तै घटनाको छानबिनका लागि नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. सुप्रभात श्रेष्ठ तथा एथिकल कमिटीका डा. अजय शाहसहित पाँच सदस्यीय टोली राजविराज पुगिसकेको पनि उनले जानकारी दिइन्।
घटनाबारे मन्त्रालयले अस्पतालसँग २४ घण्टे स्पष्टीकरण मागिसकेको र अस्पतालले स्पष्टीकरण समेत पेश गरिसकेको जानकारी दिइन्। प्रसूति भएपछि आमा र नवजात शिशुलाई सालनालसहित पुनः प्रसूति वार्डमा ल्याई आवश्यक स्वास्थ्य स्याहार तथा उपचार भइरहेको उनको भनाइ छ ।











प्रतिक्रिया