काठमाडौं । नेपाल एसीसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
आज भएको खेलमा ओमानलाई ८७ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो । नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान १८.१ ओभरमा ६० रनमै अलआउट भयो ।
उसका लागि जतिन्दर सिंहले २५ तथा जितेन रमानन्दीले १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि कप्तान सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले तीन–तीन तथा ललित राजवंशी र रोहित पौडेलले दुई–दुई विकेट लिए ।
त्यसअघि मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलको मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपाल ४५।४ ओभरमा १४७ रनमै अलआउट भयो ।
दीपेन्द्र सिंह ऐरीले ५१ तथा बसिर अहमदले ४७ रनको योगदान दिए । ओपनरद्वय देव खनालले १३ तथा आसिफ शेखले ११ रन जोडे । यस्तै, ईशान पाण्डेले १, रोहित पौडेलले ३, गुलशन झाले ७, करण केसीले ५, सन्दीप लामिछानेले ३ रन जोडे ।
बलिङतर्फ ओमानका जय विरम ओडेडारा र हस्नइन शाहले तीन–तीन तथा मुहम्मद इमरानले दुई विकेट लिए । यस्तै, मुजीबुर अलि र शकिल अहमदले एक–एक विकेट लिए । अब नेपालले उपाधिका लागि युएईसँग खेल्नेछ । फाइनल खेल शनिबार हुनेछ ।











प्रतिक्रिया