काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि नेपाल टेलिकमले संस्थागत रुपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड (दश करोड रुपैयाँ) सहयोग रकम हस्तान्तरण गरेको छ ।
बुधबार आयोजित एक विशेष कार्यक्रमका बीच सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र सचिव एवम् कम्पनी सञ्चालक समितिका अध्यक्ष राजेन्द्रकुमार पौडेलको उपस्थितिमा प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले उक्त रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिन् । रकम हस्तान्तरण कार्यक्रममा प्रमुख सञ्चालन अधिकृत प्रेमप्रसाद सिलवाल, प्रमुख वित्तीय अधिकृत द्वारिकाप्रसाद पौडेल र प्रमुख व्यावसायिक अधिकृत गोपालसिंह केसी समेतको उपस्थिति रहेको थियो ।
यसअघि कम्पनीका कर्मचारीहरुको तर्फबाट २ करोड २ लाख २६ हजार ६६ रुपैयाँ रकमको चेक अर्थमन्त्रीलाई हस्तान्तरण भइसकेको छ ।
कम्पनीले प्रभावित क्षेत्रका सेवाग्राहीलाई बाढी पश्चात नै ६ करोड रुपैयाँ बराबरको निःशुल्क कल, डाटा र एसएमएस सुविधा उपलब्ध गराएको छ ।
कम्पनीको यस सहयोगले प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको तत्कालीन राहत, उद्धार तथा दीर्घकालीन पुनर्स्थापना कार्यमा उल्लेख्य योगदान पुग्ने विश्वास लिइएको छ ।
नेपाल टेलिकमले विगतदेखि नै बाढी, पहिरो, भूकम्पजस्ता प्राकृतिक विपद् र कोभिड महामारीको समयमा देश र नागरिकप्रति समर्पित भई निरन्तर आर्थिक तथा अन्य सहयोग उपलब्ध गराउँदै आएको छ । साथै, संस्थाथत सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक वर्ष विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।











प्रतिक्रिया