२८ आश्विन २०८३, बुधबार

आफ्नै पुरानो टोली मिलानविरूद्ध १६ वर्षपछि बर्नाबेउ रङ्गशालामा मोरिन्हो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सन् २०१० मा पोर्चुगिज प्रशिक्षक जोसे मोरिन्होले इन्टर मिलानलाई ऐतिहासिक ‘ट्रेबल’ उपाधि दिलाएका थिए । सोही सिजन उनले सेरी ए, कोप्पा इटालिया र सान्टियागो बर्नाबेउमा भएको च्याम्पियन्स लिगको फाइनलमा बायर्न म्युनिचलाई २-० ले हराउँदै सन् १९६५ पछि पहिलोपटक इन्टरलाई युरोपेली च्याम्पियन बनाएका थिए । त्योसँगै इन्टर ट्रेबल जित्ने पहिलो इटालियन टोली बनेको थियो ।

फाइनलको भोलिपल्टै मोरिन्होले इन्टरमा त्यो आफ्नो अन्तिम खेल हुनसक्ने सङ्केत गरेका थिए र एक हप्तापछि रियल मड्रिडमा उनको नियुक्ति तय भएको थियो ।

तर, अहिले १६ वर्षपछि रियल मड्रिडमा आफ्नो दोस्रो कार्यकाल सुरु गर्दै मोरिन्होले मङ्गलबार बर्नाबेउमा सेरी ए च्याम्पियन इन्टर मिलानविरुद्ध १५ पटकको च्याम्पियन्स लिग विजेता टोलीको नयाँ युरोपेली अभियानको सुरुवात गर्दैछन् ।

युइएफए च्याम्पियन्स लिगको लिग चरणको पहिलो खेलमा रियल म्याड्रिड र इन्टर मिलान आमनेसामने हुँदै छन् । सान्टियागो बर्नाबेउ रङ्गशाला म्याड्रिड स्पेनमा हुने याे खेल निकै राेचक हुने देखिएकाे छ । राेचक यसकारण पनि छ कि यसअघि आफैँले तीनवटा उपाधि जिताएको पुरानो क्लब इन्टर मिलानविरुद्ध प्रशिक्षक मोरिन्होले रियल म्याड्रिडबाट खेलाडी उतारिरहेका छन्, जुन एउटा रमाइलो संयोग हो ।

रियल मड्रिडमा आफ्नो पहिलो कार्यकालमा मोरिन्होले जित्न नसकेको एकमात्र प्रमुख उपाधि ‘च्याम्पियन्स लिग’ नै थियो ।

खेलअघिको पत्रकार सम्मेलनमा क्लबप्रति कुनै बाँकी दायित्व छ कि भनेर सोधिएको प्रश्नमा उनले भने, “होइन, यी दुई फरक-फरक कार्यकाल हुन् । सन् २०१३ मा म त्यहाँबाट बिदा हुँदा हामीले जे-जति जित्यौँ वा गुमायौँ, त्यसमा आफ्नो शतप्रतिशत दिएका थियौँ । अहिले मैले गर्नुपर्ने कामको विगतसँग कुनै सम्बन्ध छैन ।”

उनले थपे, “सन् २०१० को कुरा गर्ने हो भने, हामी च्याम्पियन्स लिगको क्वार्टरफाइनलसम्म पनि पुग्न सकिरहेका थिएनौँ । तर अहिले, एक दशकभन्दा केही बढी समयको अन्तरालमा क्लबले ६ पटक च्याम्पियन्स लिग जितिसकेको छ ।”

अब सबैको ध्यान रियलले मोरिन्होको दोस्रो कार्यकालको पहिलो धक्का, शुक्रबार ला लिगामा रियल बेटिससँग भोगेको १-० को हार, लाई कसरी सम्हाल्छ भन्नेमा केन्द्रित छ ।

“हामी हरेक खेल र हरेक प्रतियोगिता जित्न चाहन्छौँ,” मोरिन्होले भने, “तर निरन्तरता र स्थिरता कायम गर्नका लागि मिहिनेत आवश्यक छ । रियल मड्रिडले जस्तोसुकै परिस्थितिमा पनि जित्नैपर्ने दबाब हुन्छ, हामी यसमा प्रयासरत छौँ ।”

पत्रकार सम्मेलनमा मोरिन्होसँगै उपस्थित स्टार स्ट्राइकर किलियन एम्बाप्पेलाई भिनिसियस जुनियरसँगको सम्बन्ध र ड्रेसिङ रुमको वातावरणबारे प्रश्न सोधिएको थियो ।

गत वर्षको तुलनामा केही परिवर्तन आएको छ कि भन्ने प्रश्नमा उनले भने, “ड्रेसिङ रुममा सुधार भन्नुको अर्थ के हो ? के गत वर्ष केही कुरा ठीक थिएन र ? होइन, अवस्था गत वर्षजस्तै सामान्य छ । फरक प्रशिक्षक हुनुहुन्छ तर माहौल उस्तै छ ।”

एम्बाप्पेले गोल गर्ने मामिलामा टोलीले सुधार गर्नुपर्ने स्वीकार गरे । “हामी सबैले गोल गर्ने र बल नियन्त्रणमा राखेर खेल्ने शैलीमा सुधार गर्न आवश्यक छ,” उनले भने ।

शुक्रबार भएको खेलमा ट्रोय पारोटले गोल गर्दै रियल बेटिसलाई १-० को जित दिलाएका थिए । उक्त खेलमा एम्बाप्पेले पेनाल्टी चुकाउँदा ला लिगामा मोरिन्होको उत्कृष्ट सुरुआतमा पूर्णविराम लागेको थियो ।

अर्कोतर्फ, इन्टर मिलानले भने शनिबार सेरी ए मा नेपोलीविरुद्ध दुई गोलले पछि परेको अवस्था उल्टाउँदै ३-२ को रोमान्चक पुनरागमन जित निकालेको छ । दोस्रो हाफमा माटेओ पोलिटानो र रसमस होजलुन्डले गोल गर्दै नेपोलीलाई २-० को अग्रता दिलाएका थिए । तर, फेडेरिको डिमार्कोको क्रसमा लाउटारो मार्टिनेजले गोल गर्दै इन्टरलाई खेलमा फर्काए भने मार्कस थुरमले ८२ औं मिनेटमा उत्कृष्ट हेडरमार्फत बराबरी गोल गरे । ९१ औं मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरको जित पक्का गरेका थिए ।