वालिङ । नेकपा (एमाले)की सचिव पद्माकुमारी अर्यालले पछिल्लो निर्वाचनको परिणामको समीक्षा पार्टीका तल्लो तहदेखि नै भइरहेको बताएकी छन् ।
एमाले वालिङ नगर कमिटीले आयोजना गरेको ‘नेकपा एमालेको तर्फबाट विभिन्न निर्वाचनहरुमा प्रस्तुत उम्मेदवारहरुबीच सम्बन्ध नवीकरण तथा सम्मानार्थ आयोजित बृहत् भेला’ कार्यक्रममा बोल्दै सचिव अर्यालले निर्वाचनको समीक्षा पार्टीको तल्लो कमिटीदेखि केन्द्रसम्म भइरहेको बताएकी हुन् ।

उनका अनुसार विभिन्न कमिटीहरूले निर्वाचनसम्बन्धी राय–सुझाव केन्द्रीय कमिटीमा पेश गरिसकेका छन् । अब असोज ५, ६ र ७ गते बस्ने पार्टी केन्द्रीय कमिटीको बैठकमा निर्वाचन परिणामबारे थप गहन समीक्षा गरिनेछ ।
“तल्लो कमिटीदेखि नै निर्वाचनको समीक्षा भइरहेको छ । उहाँहरूले आफ्ना राय–सुझाव केन्द्रीय कमिटीमा पेश गर्नुभएको छ,” सचिव अर्यालले भनिन्, “असोज ५, ६ र ७ गते बस्ने केन्द्रीय कमिटीको बैठकबाट चुनावको परिणामको समीक्षा गर्नेछौँ । त्यसपछि थप योजना निर्माण गरेर अगाडि बढ्नेछौँ ।”
उनले निर्वाचनबाट पार्टीले प्राप्त गरेका अनुभव र शिक्षालाई आगामी कार्ययोजनामा समेटेर अघि बढ्ने बताइन् । निर्वाचनमा देखिएका कमजोरी पहिचान गरी संगठनलाई थप सुदृढ बनाउनेतर्फ पार्टी केन्द्रित हुने उनको भनाइ थियो ।
एमाले वालिङ नगर कमिटीका अध्यक्ष शोभाकान्त पौडेलको अध्यक्षतामा सम्पन्न भेलामा एमाले केन्द्रीय कमिटी सदस्य खिमबहादुर थापा, केन्द्रीय अनुशासन आयोगका उपाध्यक्ष चक्रबहादुर पराजुली, केन्द्रीय सल्लाहकार परिषद् सदस्य टेकु नेपाली, पूर्वसांसद महेन्द्र थापा, एमाले गण्डकी प्रदेश सल्लाहकार परिषद्का अध्यक्ष तथा पूर्वप्रदेश सांसद मोहन रेग्मी, एमाले प्रदेश कमिटी सदस्य (सचिवालय) उदय श्रेष्ठ, एमाले स्याङ्जा जिल्ला कमिटीका अध्यक्ष सूर्यप्रसाद गैरे तथा प्रदेश कमिटी सदस्य नासिर खाँ लगायतको आतिथ्यता रहेको थियो ।
भेलामा विभिन्न निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार बनेका नेता तथा कार्यकर्ताबीच सम्बन्ध नवीकरणसँगै सम्मान कार्यक्रम गरिएको थियो ।












प्रतिक्रिया