काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई बाढी प्रभावित क्षेत्रमा स्थानीयले जुत्ताको माला लगाएर कालोमोसो दलेको दाबी गर्दै सामाजिक सञ्जालमा व्यापक रूपमा शेयर गरिएको तस्बिर वास्तविक नभएको पुष्टि भएको छ। उक्त तस्बिर कृत्रिम बौद्धिकता (एआई) को प्रयोग गरेर तयार पारिएको तथ्यजाँचबाट खुलेको हो।
सामाजिक सञ्जालमा भाइरल तस्बिरमा ओलीको गलामा जुत्ताको माला लगाइएको र अनुहारमा कालोमोसो दलिएको देखाइएको छ। तस्बिरलाई ओलीको बाढी प्रभावित क्षेत्रको भ्रमणसँग जोड्दै विभिन्न फेसबुक पेज तथा समूहबाट व्यापक रूपमा फैलाइएको पाइएको छ।
तर, तस्बिरमा देखाइएको दृश्य ओलीको वास्तविक भ्रमणका क्रममा भएको घटनासँग मेल खाँदैन। तथ्यजाँचका क्रममा उक्त सामग्री एआई प्रविधिको प्रयोगबाट तयार पारिएको कृत्रिम तस्बिर भएको पाइएको हो।
ओली केही दिनअघि बाढी तथा पहिरोबाट प्रभावित धादिङ र नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत निरीक्षणमा पुगेका थिए। भ्रमणका क्रममा उनले प्रभावित नागरिकको अवस्था बुझ्नुका साथै विपद्मा उद्धार तथा राहत व्यवस्थापन प्रभावकारी हुन नसकेको भन्दै सरकारको आलोचना गरेका थिए।
त्यसपछि ओलीले एक भारतीय पत्रकारलाई दिएको अन्तर्वार्ता सार्वजनिक भएको थियो। अन्तर्वार्ता सार्वजनिक भएको भोलिपल्टदेखि नै ओलीलाई लक्षित उक्त कृत्रिम तस्बिर सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिएको देखिएको छ।
तथ्यजाँचमा उपलब्ध विवरणअनुसार सुरुमा Buddha Magar’ नामको फेसबुक प्रोफाइलबाट उक्त तस्बिर पोस्ट गरिएको देखिन्छ। त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाम प्रयोग गरिएका विभिन्न फेसबुक पेज तथा समूहमा समेत तस्बिरलाई पुनः पोस्ट गर्दै व्यापक बनाइएको पाइएको छ।
पछिल्लो समय राजनीतिक असहमति व्यक्त गर्ने क्रममा सामाजिक सञ्जालमा गलत सूचना, गालीगलौज, धम्की र चरित्रमाथि आक्रमण गर्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ।
बाढी तथा पहिरोका कारण परिवारका सदस्य गुमाएका र सर्वस्व गुमाएका नागरिकलाई समेत लक्षित गर्दै सामाजिक सञ्जालमा अत्यन्तै आपत्तिजनक तथा अश्लील गालीगलौज भएका सामग्री सार्वजनिक भएका छन्। विपद्का बेला पीडित नागरिकलाई नै अपमानित गर्ने यस्ता गतिविधिको चौतर्फी आलोचना हुँदै आएको छ।
सामाजिक सञ्जालमा हुने गालीगलौज, धम्की र आपत्तिजनक अभिव्यक्तिप्रति प्रधानमन्त्री वालेन्द्र साहले सार्वजनिक रूपमा आपत्ति जनाएका थिए। उनले त्यस्ता गतिविधिमा संलग्नलाई अपराधीको संज्ञा दिँदै आवश्यक कारबाही गर्ने चेतावनीसमेत दिएका थिए।
यद्यपि राजनीतिक दलका नेता तथा सार्वजनिक व्यक्तित्वलाई लक्षित गरी एआईबाट बनाइएका झूटा तस्बिर तथा भिडियोमार्फत भ्रम फैलाउने क्रम रोकिएको छैन।













प्रतिक्रिया