काठमाडौं । नेपाली मूलकी उद्यमी अरुणा अधिकारीले अमेरिकामा क्लिनिकल प्रविधि कम्पनी काइरोसहेलिक्स स्थापना गरेकी छन् । कम्पनीले जीवन विज्ञान क्षेत्रमा क्लिनिकल ट्रायलबाट सिर्जना हुने ज्ञानलाई संकलन, एकीकृत र प्रयोग गर्ने भन्ने प्रक्रियालाई रूपान्तरण गर्ने उद्देश्य राखेको जनाएको छ ।
क्लिनिकल ट्रायलका क्रममा ठूलो मात्रामा प्रोटोकल, प्रतिवेदन, सञ्चालनसम्बन्धी तथ्यांक तथा विशेषज्ञका निर्णयहरू सिर्जना हुन्छन् । तर, ज्ञान प्रायः विभिन्न प्रणालीमा विभाजित भएर रहने भएकाले अनुसन्धानकर्ता तथा संस्थाहरूले विगतका ट्रायलबाट प्रभावकारी रूपमा सिक्ने र त्यसबाट प्राप्त ज्ञानलाई भविष्यका अध्ययनमा प्रयोग गर्ने क्षमतामा सीमितता देखिने गरेको छ । उक्त चुनौतीलाई सम्बोधन गर्न काइरोसहेलिक्सले आर्टिफिसियल इन्टेलिजेन्स, तथ्यांकशास्त्र तथा प्रमाणमा आधारित प्रणालीहरूको संयोजनमार्फत संचित क्लिनिकल ट्रायलसम्बन्धी ज्ञानलाई प्रयोगयोग्य बौद्धिक सूचनामा रूपान्तरण गर्ने प्रविधि विकास गरिरहेको छ । कम्पनीको प्रविधिगत दृष्टिकोणले मूल प्रमाणको संरक्षण तथा मानव निगरानीलाई विशेष प्राथमिकता दिन्छ, विशेषगरी नियमनको दायरामा रहेका तथा उच्च जोखिमयुक्त क्लिनिकल अनुसन्धानसँग सम्बन्धित निर्णयहरूमा ।

कम्पनीले हालसम्म २५ सदस्यीय टोली गठन गरिसकेको छ भने क्लिनिकल ट्रायल इन्टेलिजेन्ससम्बन्धी कार्यशील प्लेटफर्म विकास गरिसकेको छ । साथै, अनुसन्धान सम्झौता गर्ने संस्थाहरू तथा जैव प्रविधि कम्पनीहरूसँग व्यावसायिक सहकार्यसमेत प्रारम्भ गरिसकेको जनाएको छ । काइरोसहेलिक्सले क्लिनिकल ट्रायल योजना, अनुसन्धान केन्द्र सिफारिस, सिन्थेटिक डाटा तथा नियमनयुक्त आर्टिफिसियल इन्टेलिजेन्स लगायतका क्षेत्रमा ११ वटा अस्थायी पेटेन्ट आवेदनहरू समेत दर्ता गरिसकेको छ ।
कम्पनीको दृष्टिकोण अधिकारीको गणित, इन्जिनियरिङ, उद्यम प्रविधि तथा क्लिनिकल अनुसन्धान क्षेत्रमा रहेको अनुभवबाट आकार लिएको हो । १६ वर्षको उमेरमा नेपालबाट अमेरिका पुगेकी अधिकारीले गणित र प्रविधिप्रतिको आफ्नो रुचिलाई निरन्तर अगाडि बढाउँदै विभिन्न क्षेत्रमा काम गरिन् ।
सन् २०२४ मा प्रविधि तथा आर्टिफिसियल इन्टेलिजेन्स क्षेत्रमा गरेको कामका लागि अधिकारीलाई फार्माभ्वाइस १००मा समेत सम्मानित गरिएको थियो ।











प्रतिक्रिया