२८ आश्विन २०८३, बुधबार

२०० वर्षपछि परिवारमा छोरीको जन्म, बाजागाजासहित रथमा राखेर घर ल्याइयो

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । महाराष्ट्रको बीड जिल्लास्थित एक परिवारमा करिब २०० वर्षपछि छोरीको जन्म भएको दाबी गर्दै परिवारले अनौठो र भव्य तरिकाले नवजात शिशुको स्वागत गरेको छ ।

परिवारले छोरीको जन्मलाई विशेष अवसरका रूपमा मनाउँदै उनलाई बत्तीले सजाइएको रथमा राखेर बाजागाजासहित घर भित्र्याएको हो ।

दक्षिण एसियाका कतिपय समाजमा अझै पनि छोरालाई प्राथमिकता दिने सामाजिक सोच कायम रहेका बेला महाराष्ट्रको पर्ली वैजनाथस्थित दाहिफाले परिवारले छोरीको जन्मलाई उत्सवका रूपमा मनाएको घटनाले चर्चा पाएको हो ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार कल्पना दाहिफालेले गत अगस्ट २७ मा स्थानीय अस्पतालमा छोरीलाई जन्म दिएकी थिइन् । लामो समयपछि परिवारमा छोरी जन्मिएपछि उनका पति ऋषिकेश दाहिफालेसहित परिवारका सदस्य तथा आफन्तमा खुसी छाएको थियो ।

कल्पना अस्पतालबाट डिस्चार्ज भएपछि परिवारले नवजात शिशुलाई घर लैजाने क्षणलाई नै विशेष बनाउने तयारी गरे । त्यसक्रममा शिशुलाई आकर्षक बत्तीले सजाइएको रथमा राखियो । रथलाई फूलसहित सजावटी सामग्रीले सजाइएको थियो । त्यसपछि बाजागाजासहित संगीत बजाउँदै परिवार र आफन्तले खुसीयाली मनाउँदै शिशुलाई घर ल्याएका थिए ।

शिशुको स्वागतका क्रममा परिवारका सदस्य, आफन्त तथा स्थानीयको समेत सहभागिता रहेको थियो । छोरीलाई रथमा राखेर घर भित्र्याइएको दृश्य सामाजिक सञ्जालमा समेत चर्चामा आएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

शिशुका हजुरबुवा लिम्बाजी दाहिफालेका अनुसार उनीहरूको प्रत्यक्ष पुर्ख्यौली वंशमा करिब २०० वर्षदेखि कुनै पनि छोरीको जन्म भएको थिएन ।

शिक्षक समेत रहेका लिम्बाजीले परिवारको इतिहासमा लामो समयपछि छोरीको जन्म हुनु आफैंमा विशेष भएको उल्लेख गरे । उनका अनुसार विगत दुई शताब्दीदेखि परिवारमा छोरीको जन्म नभएकाले यसपटक जन्मिएकी नातिनीलाई परिवारले विशेष महत्व दिएको हो ।

लिम्बाजीका लागि यो केवल परिवारमा नयाँ सदस्यको आगमन मात्र नभई पुस्तौंदेखि रहेको छोरीको रिक्तता पूरा भएको क्षण समेत हो । त्यसैले नवजात शिशुको स्वागत सामान्य रूपमा नगरी बाजागाजासहित विशेष समारोहकै रूपमा गरिएको परिवारको भनाइ छ ।

भारत लगायत दक्षिण एसियाका केही समाजमा अझै पनि छोरा जन्मिए परिवारमा बढी खुसी मनाउने र छोरीलाई तुलनात्मक रूपमा कम प्राथमिकता दिने सोचका उदाहरण भेटिन्छन् । यद्यपि पछिल्ला वर्षहरूमा छोरा र छोरीबीच समानता कायम गर्नुपर्ने आवाज बलियो हुँदै गएको छ ।