काठमाडौं । रसुवाको भोटेकोशी बाढी आएको छैटौँ दिन बितिसक्दा पनि विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा रहेका व्यक्तिको खोज तथा उद्धार पूरा हुन सकेको छैन ।
सुरुङभित्रको जटिल भौगोलिक अवस्थाका कारण उद्धारमा कठिनाइ भएपछि सरकारले अब सम्बन्धित जलविद्युत् आयोजनाका प्राविधिक टोलीलाई समेत परिचालन गर्ने भएको हो ।
यसअघि सुरुङ उद्धारमा आयोजनाका प्राविधिक तथा जनशक्तिलाई प्रत्यक्ष रूपमा सहभागी गराउन सरकारले अनुमति दिएको थिएन । तर उद्धार कार्य अपेक्षित गतिमा अघि बढ्न नसकेपछि सरकार र आयोजनाका प्राविधिकबीच सहकार्य गरेर सुरुङभित्र खोजी तथा उद्धार अघि बढाउने सहमति भएको हो । केही आयोजनाका प्राविधिक टोली भने यसअघि नै प्रभावित क्षेत्रमा पुगेर काममा जुटिसकेका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बाढीबाट प्रभावित जलविद्युत् आयोजनाका प्रतिनिधि तथा प्राविधिकसँग नुवाकोटको बट्टारमा छलफल गरेका थिए । छलफलमा सुरुङ उद्धारको कामलाई प्रभावकारी बनाउन सरकारी उद्धार टोलीसँगै आयोजनाका प्राविधिक जनशक्तिलाई पनि परिचालन गर्ने निष्कर्ष निकालिएको हो ।
सरकारी टोलीलाई सुरुङभित्रको संरचना, पहुँचमार्ग र आयोजनाको प्राविधिक अवस्थाबारे विस्तृत जानकारी आवश्यक पर्ने भएकाले सम्बन्धित आयोजनाकै प्राविधिकको सहयोग प्रभावकारी हुने बताइएको छ । त्यसपछि दुवै पक्षका प्राविधिकलाई समेटेर संयुक्त टोली परिचालन गर्ने तयारी गरिएको हो ।
लाङटाङ खोला जलविद्युत् आयोजनाका निर्देशक विजयमोहन भट्टराईका अनुसार बट्टारमा भएको छलफलपछि आयोजनाहरूले आफ्ना प्राविधिक जनशक्ति उद्धार कार्यमा तत्काल परिचालन गर्ने निर्णय भएको छ । उनका अनुसार सुरुङ निर्माण तथा संरचनाको प्रकृति जटिल हुने भएकाले आयोजनाका प्राविधिकको अनुभव उद्धारमा उपयोगी हुन सक्छ ।
भट्टराईले सुरुदेखि नै सरकारी उद्धार टोली र आयोजनाका प्राविधिकबीच समन्वय हुन सके उद्धार प्रक्रिया अझ सहज र छिटो हुन सक्ने बताए । अब भने दुवै पक्षले उपलब्ध प्राविधिक दक्षता र अनुभव प्रयोग गरेर सुरुङभित्र खोजी तथा उद्धार अघि बढाउने तयारी गरेका छन् ।
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका महाप्रबन्धक गिरिराज अधिकारीका अनुसार अहिले नेपाली सेना, चिनियाँ प्राविधिक तथा निर्माण कम्पनीको टोली संयुक्त रूपमा उद्धारमा खटिएको छ । आयोजनाको बाहिरी क्षेत्रमा रहेका व्यक्तिहरूको उद्धार भइसकेको भन्दै उनले अब सुरुङभित्र रहेका व्यक्तिको खोजीमा ध्यान केन्द्रित गरिएको बताए ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनबहादुर डाँगीले पनि केही आयोजनामा दुई दिनअघिदेखि नै सरकारी टोली र आयोजनाका प्राविधिक मिलेर उद्धार गरिरहेको जानकारी दिए । उनका अनुसार बाढी प्रभावित तीनवटा आयोजनाका सुरुङमा संयुक्त रूपमा काम भइरहेको छ भने अन्य आयोजनामा पनि प्राविधिक टोली परिचालन गर्ने तयारी भइरहेको छ ।
डाँगीले विभिन्न जलविद्युत् आयोजनाका प्राविधिकलाई समेत खोज तथा उद्धारमा खटाइएको बताए । उनका अनुसार सुरुङको संरचना र अवस्थाबारे प्रत्यक्ष जानकारी भएका आयोजनाका प्राविधिकलाई उद्धारमा सहभागी गराउँदा कठिन स्थानमा टोलीलाई अघि बढ्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
बाढी आएको छ दिनसम्म सुरुङमा फसेकाहरूको अवस्था अझै यकिन हुन नसकेकाले अब सरकारी संयन्त्र र आयोजनाको प्राविधिक क्षमतालाई एकीकृत गरेर उद्धारलाई तीव्र बनाउने प्रयास गरिएको हो।











प्रतिक्रिया