२८ आश्विन २०८३, बुधबार

पार्टीविरोधी गतिविधिको आरोपमा उदयबहादुर चलाउने नेकपा (बहुमत)को सबै जिम्मेवारीबाट मुक्त

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले पार्टीविरोधी गतिविधिमा संलग्न भएको आरोप लगाउँदै अध्यक्ष मण्डलका सदस्य उदयबहादुर चलाउने ‘दीपक’लाई पार्टीका सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेको छ ।

पार्टीले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा दीपकमाथि पार्टीको नीति, विधि र निर्णयविपरीत गतिविधि गरेको, पार्टीभित्र गुटबन्दी र विभाजनको प्रयास गरेको तथा षड्यन्त्रपूर्ण गतिविधिमा मुख्य भूमिका खेलेको आरोप लगाइएको छ ।

विज्ञप्ति अनुसार पार्टीले यसअघि पनि केही नेताकार्यकर्ताले गैरजिम्मेवार ढंगले पार्टीविरोधी गतिविधि गर्दै आएको भन्दै उनीहरूलाई समय–समयमा छलफल, बहस, स्पष्टीकरण र आत्मालोचनाको अवसर दिँदै आएको थियो । तर, चेतावनी र छलफलका बाबजुद पार्टीलाई फरक दिशातर्फ लैजाने, गुटबन्दी गर्ने र विभाजनकारी गतिविधि अघि बढाइएको पार्टीको आरोप छ ।

पछिल्लो समय देश बाढी र विपद्को चपेटामा परेपछि राष्ट्रिय सम्मेलन स्थगित गरी पीडित जनताको उद्धार तथा राहतमा जुट्न पार्टीले अपिल गरेको थियो । तर, उक्त अपिल र पार्टीको सर्कुलरविपरीत गतिविधि गर्दै पार्टी कार्यालयलाई जानकारी नै नदिई बैठकका लागि परिपत्र जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

पार्टीले दीपकले पार्टीको नीति र विधिविपरीत गुटबन्दी तथा षड्यन्त्रपूर्ण तरिकाले गतिविधि सञ्चालन गर्न मुख्य भूमिका खेलेको निष्कर्ष निकालेको जनाएको छ । यसै आधारमा पार्टी विधानको भाग ५, धारा २७ बमोजिम अध्यक्ष मण्डलका सदस्य दीपकलाई पार्टीका सबै जिम्मेवारीबाट मुक्त गरिएको जनाइएको छ ।

पार्टीले आफ्ना केन्द्रीय सदस्यहरूलाई अर्थवाद, षड्यन्त्रकारी, गुटवादी, विभाजनकारी, अवसरवादी तथा अराजकतावादी गतिविधिको भ्रममा नपर्न पनि अपिल गरेको छ ।

सोमबार जारी विज्ञप्तिमा पार्टी अध्यक्ष कञ्चनले पार्टीको निर्णयप्रति सबै नेता तथा कार्यकर्तालाई जिम्मेवार र अनुशासित बन्न आग्रह गरेका छन् ।