काठमाडौं । नेकपा (एमाले) ले रसुवासहित बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाको कामलाई प्रभावकारी बनाउन सरकारलाई तत्काल गर्नुपर्ने आठवटा काम सुझाएको छ।
एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि तयार गरेको प्रतिवेदन पार्टी आज अध्यक्ष केपी शर्मा ओलीलाई बुझाउँदै सरकारलाई उक्त सुझाव दिएको हो।
एमालेले उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन तीनवटै सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिसहितको एकीकृत कमान्ड पोस्ट तत्काल गठन गर्न माग गरेको छ। मुख्य सडक सञ्चालनमा आउन समय लाग्ने भएकाले प्रभावित क्षेत्रमा तुइन, फलामे डोरी र अस्थायी पुललगायत वैकल्पिक माध्यमबाट खाद्यान्न, औषधि र खानेपानी पुर्याउनुपर्ने सुझाव दिइएको छ।
त्यस्तै, सडक खुलाउन निजी क्षेत्रका ठूला हेभी इक्युपमेन्टसमेत परिचालन गरी युद्धस्तरमा काम गर्न र नदी तथा ठूला खोलामा तत्काल बेलिब्रिज निर्माण गर्न एमालेले सरकारको ध्यानाकर्षण गराएको छ।
रसुवा जोड्ने वैकल्पिक सडकहरू तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन पनि सुझाव दिइएको छ। टोखा–शिवपुरी–लिखु–तादी–सूर्यगढी हुँदै धुन्चे जाने सडक तथा धादिङबाट मध्यपहाडी राजमार्ग हुँदै किस्पाङ–तारकेश्वर भएर रसुवा जोडिने सडकलाई प्राथमिकताका साथ सञ्चालनमा ल्याउनुपर्ने एमालेको भनाइ छ।
बाढीमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि थप जनशक्ति र आधुनिक उपकरण परिचालन गर्न पनि एमालेले माग गरेको छ। डुबान तथा भग्नावशेषमा पुरिएका व्यक्तिको खोजी गर्नुका साथै जलविद्युत् आयोजनाका सुरुङमा फसेका स्वदेशी तथा विदेशी कामदारको शीघ्र उद्धार गर्नुपर्ने सुझाव दिइएको छ।
राहत तथा उद्धार कार्यमा सुरक्षा निकायसँगै नागरिक स्वयंसेवकलाई पनि तत्काल परिचालन गर्न एमालेले आग्रह गरेको छ।
यसैगरी, भोटेकोशी तथा त्रिशूली बाढीमा परी मृत्यु भएका र बेपत्ता भएका व्यक्तिको सम्झनामा स्मृति पार्क निर्माण गर्नसमेत सरकारलाई सुझाव दिइएको छ।
एमालेले विपद्को समयमा राजनीतिक स्वार्थभन्दा मानवीय उद्धार, राहत र पुनर्स्थापनालाई प्राथमिकता दिनुपर्ने भन्दै सरकारी संयन्त्रबीच प्रभावकारी समन्वय गरी कामलाई तीव्रता दिन आग्रह गरेको छ।
यस्तो छ एमालेको सुझाव प्रतिवेदन–





















प्रतिक्रिया