२८ आश्विन २०८३, बुधबार

क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले एक महिनाको तलब विपद् राहत कोषमा सहयोग गर्ने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले एक महिनाको तलब बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन् ।

लामिछानेले सामाजिक सञ्जालमार्फत एक महिनाको तलब दिने घोषणा गरेका हुन् । उनले भनेका छन् ‘असल काममा आफ्नो सानो योगदानस्वरूप, क्रिकेट संघ नेपाल (क्यान) बाट प्राप्त हुने मेरो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्नेछु।’

उनले देशमा कठिन परिस्थिति रहेकाले आफूहरूको मन नेपालमै रहेको उल्लेख गर्दै प्रतियोगितामा मैदानमा आफ्नो शतप्रतिशत दिने बताएका छन्।

नतिजाभन्दा पनि आफ्नो प्रदर्शनले स्वदेशमा रहेका नेपालीको अनुहारमा केही खुसी ल्याउन र उत्साह प्रदान गर्न सकोस् भन्ने आफूहरूको चाहना रहेको उनले बताए।

उनले लेखेका छन् ‘यस्तो कठिन परिस्थितिका बाबजुद पनि हामी चुनौतीका लागि तयार छौँ र मैदानमा आफ्नो सबै क्षमता लगाउनेछौँ। नतिजाभन्दा पनि हाम्रो प्रदर्शनले स्वदेशमा रहेका नेपालीको अनुहारमा केही खुसी ल्याउन र उनीहरूलाई उत्साहित हुने एउटा कारण दिन सकोस् भन्ने हाम्रो चाहना हो।’

त्यसैगरी सन्दीपले एसीसी प्रिमियर कपभरि नेपालले लिने प्रत्येक विकेटबापत १ हजार ५ सय रुपैयाँ र नेपाली टोलीले प्रहार गर्ने प्रत्येक चौका तथा छक्काबापत पनि १ हजार ५ सय रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

‘हरेक विकेट, हरेक बाउन्ड्री र हरेक खुसी नेपालका लागि हो,’ उनले लेखेका छन्। तेस्रो संस्करणको एसिसी प्रिमियर कप आजदेखि मलेसियामा सुरु हुँदैछ। नेपालले भोलि बहराइनसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।