काठमाडौं । विनाशकारी बाढीका कारण अलपत्र परेका नागरिकहरूलाई गन्तव्यसम्म पुर्याउन काठमाडौं महानगरपालिकाले निःशुल्क यातायात सेवा सञ्चालनमा ल्याएको छ ।
महानगरको सहायता कार्यक्रमअन्तर्गत आज बिहान ६ः०० बजे काठमाडौंबाट नुवाकोटतर्फ दुई वटा बस परिचालन गरिएको छ । अलपत्र नागरिकहरूको सहज यात्रा र यात्राको सुरक्षालाई ध्यानमा राख्दै महानगर प्रहरीको विशेष टोलीसहित गाडीहरू पठाइएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
बाढीपहिरोका कारण देशका विभिन्न भागमा सडक अवरुद्ध भई अलपत्र परेका सर्वसाधारणलाई सुरक्षित रूपमा गृहजिल्ला पुर्याउने उद्देश्यले महानगरले यो सेवा सुरु गरेको हो । आवश्यकता अनुसार अन्य प्रभावित क्षेत्रहरूमा पनि निःशुल्क यातायात सेवा र उद्धार टोली विस्तार गर्दै लगिने महानगरपालिकाले जनाएको छ ।















प्रतिक्रिया