२८ आश्विन २०८३, बुधबार

गणित शिक्षा सुदृढ गर्न प्याब्सन र कुमोन नेपालबीच समझदारी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र कुमोन नेपालबीच गणित शिक्षालाई थप प्रभावकारी बनाउने तथा विद्यार्थीमा स्वअध्ययनको विकास गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्याब्सनका अध्यक्ष कृष्ण अधिकारी र आईजीसी बिजनेस होल्डिङका अध्यक्ष गणेशमान लामाले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा प्याब्सनका पदाधिकारी, सदस्य तथा कुमोनका साझेदार विद्यालयका प्रतिनिधिहरूको उपस्थिति थियो ।

जापानबाट सुरु भएको कुमोन गणित शिक्षा कार्यक्रमको सात दशकभन्दा लामो इतिहास रहेको छ । हाल यो कार्यक्रम विश्वका ६० भन्दा बढी देशमा सञ्चालन हुँदै आएको छ । करिब ४० लाख विद्यार्थी कुमोन गणितबाट लाभान्वित भइरहेका छन् ।

कुमोनको शिक्षण पद्धतिले विद्यार्थीलाई आफै सिक्ने वातावरण सिर्जना गर्दै शैक्षिक क्षमता, आत्मविश्वास र स्वअध्ययनको बानी विकासमा जोड दिने जनाइएको छ ।

नेपालमा कुमोन कार्यक्रम आईजीसी बिजनेस होल्डिङका अध्यक्ष गणेशमान लामाको पहलमा सन् २०२३ मा भित्रिएको हो ।

हाल नेपालका सात अग्रणी विद्यालय एलआरआई, युनाइटेड स्कुल, भ्याली पब्लिक स्कुल, लोयल्टी एकेडेमी, विङ्स एकेडेमी, एनआईएसटी भक्तपुर र जोन ड्यु स्कूलमा कुमोन कार्यक्रम सञ्चालन भइरहेको छ ।

समझदारीपछि विद्यार्थीलाई स्वनिर्देशित रूपमा सिक्न प्रोत्साहित गर्ने शैक्षिक पद्धतिको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ । बदलिँदो शैक्षिक आवश्यकता र प्रविधिको विकाससँगै गणित शिक्षालाई थप व्यवहारिक, उद्देश्यपूर्ण र प्रभावकारी बनाउने साझेदारीको लक्ष्य रहेको जनाइएको छ ।

कार्यक्रममा प्याब्सन अध्यक्ष अधिकारीले कुमोनसँग आफ्नो अनुभव समेत सुनाए । उनले सन् २००८ मा अमेरिकाको भ्रमणका क्रममा कुमोनबारे जानकारी पाएको र आफ्नै छोराछोरीहरूमा समेत यसको प्रभाव देखेको बताए । करिब १८ वर्षपछि कुमोन नेपाल भित्रिएको जानकारी पाएपछि आफ्नो विद्यालयमा समेत कार्यक्रम लागू गर्ने निर्णय गरेको उनले सुनाए ।

कार्यक्रममा शैक्षिक क्षेत्रका प्रतिनिधिहरू सहभागी भएका थिए । उनीहरूले गणित शिक्षाको भविष्य, विद्यार्थीको सिकाइ क्षमता तथा बदलिँदो शैक्षिक परिवेशबारे छलफल गरेका थिए ।

कार्यक्रममा आईजीसी बिजनेस होल्डिङका अध्यक्ष लामाले जापानमा विकसित विश्वप्रसिद्ध शैक्षिक कार्यक्रमलाई नेपालमा ल्याउने क्रममा सामना गर्नुपरेका चुनौती र यात्राबारे सुनाएका थिए ।

उनले कुमोनलाई नेपाली विद्यार्थीका लागि सहज, पहुँचयोग्य र किफायती बनाउने प्रयास भइरहेको बताए ।

प्याब्सन र कुमोन नेपालबीच भएको यो समझदारीले नेपालमा गणित शिक्षालाई थप प्रभावकारी र व्यवहारिक बनाउने विश्वास गरिएको छ ।