२८ आश्विन २०८३, बुधबार

कुमारी बैंकद्वारा बाढी प्रभावितका लागि ३ करोड ३९ लाख बराबरको सहयोग

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कुमारी बैंक लिमिटेडले बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित समुदायको राहत, उद्धार र पुनर्स्थापनाका लागि ३ करोड ३९ लाख रुपैयाँ बराबरको सहयोग गरेको छ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत ३ करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।

यस्तै, प्रभावित क्षेत्रमा खोज, उद्धार तथा अनुगमन कार्यलाई प्रभावकारी बनाउन बैंकले करिब ३९ लाख रुपैयाँ बराबरका उद्धार सामग्रीसमेत उपलब्ध गराएको छ। बैंकले ५ वटा ड्रोन, ३ वटा ५ किलोवाट क्षमताका पोर्टेबल जेनेरेटर र १०० वटा पावर बैंक नेपाली सेनाको नुवाकोटस्थित क्याम्पमा हस्तान्तरणका लागि पठाएको जनाएको छ।

हालैको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका जिल्ला प्रभावित भएका छन्। प्रभावित परिवारलाई राहत, खाद्यान्न, अस्थायी आश्रय तथा अन्य आवश्यक मानवीय सहायता पुर्‍याउन सरकारसँग समन्वय गरी सहयोग गरिएको बैंकले जनाएको छ।

विपद्को कठिन समयमा प्रभावित समुदायप्रति सहयोग र ऐक्यबद्धता जनाउँदै बैंकले घाइतेको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ताको सुरक्षित खोज तथा उद्धारको कामना गरेको छ।