रामेछाप । रसुवामा हिजो गएको बाढीका कारण रोजगारी तथा कामका सिलसिलामा पुगेका सिन्धुलीका ३६ जना नागरिक हालसम्म सम्पर्कविहीन भएका छन् ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीका अनुसार रसुवाका विभिन्न जलविद्युत् आयोजना, सडक निर्माण तथा होटल व्यवसायमा कार्यरत सिन्धुलीका स्थानीयहरू बाढीपछि सम्पर्कमा आउन नसकेका हुन् ।
सम्पर्कविहीन हुनेहरूमा कमलामाई नगरपालिका, फिक्ल गाउँपालिका, तिनपाटन गाउँपालिका, सुनकोशी गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका र दुधौली नगरपालिकाका बासिन्दाहरू रहेका छन् ।
सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धारका लागि स्थानीय प्रशासन र सुरक्षा निकायहरूसँग निरन्तर समन्वय भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आफन्तहरूले आफ्ना मानिसहरूसँग सम्पर्क हुन नसकेपछि प्रहरी तथा स्थानीय प्रशासनमा जानकारी गराएका थिए ।
बाढी प्रभावित क्षेत्रमा टेलिफोन तथा सञ्चार सेवा अवरुद्ध भएका कारण पनि सम्पर्कमा आउन ढिलाइ भएको हुनसक्ने अनुमान गरिएको छ । आफन्तहरूलाई धैर्य धारण गर्न र कुनै सूचना प्राप्त भएमा तुरुन्त जिल्ला प्रशासन वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।












प्रतिक्रिया