काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन) आज बिहानै बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ स्थलगत निरीक्षणका लागि प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री साहसँगै पूर्वाधार विकासमन्त्री सुनिल लम्साल समेत सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
उनीहरू आज बिहान ९ः३० बजे सडकमार्ग हुँदै बाढी प्रभावित मुख्य क्षेत्रहरूमध्ये एक विदुरतर्फ प्रस्थान गरेका हुन् ।
हिजो रसुवाको भोटेकोशी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रहरूमा क्षति पुर्याउनासाथ प्रधानमन्त्री साह उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन निरन्तर सक्रिय रहेका छन् ।
बाढीको लगत्तै उनले उच्चस्तरीय बैठकहरू आह्वान गरी उद्धार तथा राहतका लागि मातहतका निकायहरूलाई आवश्यक निर्देशन दिनुका साथै निरन्तर सहजीकरण गर्दै आएका छन् ।
बाढीका कारण धेरै स्थानमा क्षति पुगेको भए पनि समयको सीमाका कारण प्रधानमन्त्री साहले आज मुख्य रूपमा नुवाकोटको विदुर तथा आसपासका प्रभावित बस्तीहरूको निरीक्षण गर्ने उनको सचिवालयले जनाएको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री र पूर्वाधारमन्त्री लम्सालको टोलीले बाढीबाट भएको भौतिक क्षतिको प्रत्यक्ष जानकारी लिनुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग राहत, पुनर्स्थापना र अवरुद्ध पूर्वाधार सञ्चालनबारे छलफल गर्नेछ । साथै, सम्पूर्ण प्रभावित क्षेत्रहरूमा द्रुत गतिमा राहत पुर्याउन र पूर्वाधार पुनर्निर्माणको कामलाई तीव्रता दिन उनीहरूले आवश्यक निर्देशन दिने कार्यक्रम रहेको छ ।











प्रतिक्रिया