बेइजिङ । भीषण बाढी तथा पहिरोका कारण ठूलो मानवीय क्षति भएपछि चीनका राष्ट्रपति सी चिनफिङले प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन निर्देशन दिएका छन् । बाढी तथा पहिरोका कारण चीन–नेपाल सीमावर्ती सिगात्से क्षेत्रको केरुङ सीमा बन्दरगाहमा समेत ठूलो असर परेको छ ।
चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार बुधबार बिहान करिब १०ः३० बजे चीन र नेपाललाई जोड्ने प्रमुख स्थलमार्ग केरुङ सीमा बन्दरगाह क्षेत्रमा पहिरो तथा बाढीले ठूलो क्षति पुर्याएको थियो ।
स्थानीय अधिकारीलाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यमले बुधबार राति ८ बजेसम्म कम्तिमा तीन जनाको मृत्यु भएको र २६५ जना बेपत्ता रहेको जनाएको छ ।
राष्ट्रपति सीले बेपत्ता भएकाहरूको खोजी तथा उद्धारलाई सर्वोच्च प्राथमिकतामा राख्न, जोखिममा रहेका बासिन्दालाई सुरक्षित स्थानमा सार्न र घाइतेलाई तत्काल उपचारको व्यवस्था गर्न निर्देशन दिएका छन् ।
उनले सम्भावित थप जोखिमलाई ध्यानमा राख्दै निगरानी तथा पूर्वसूचना प्रणालीलाई थप मजबुत बनाउन र उद्धार कार्य वैज्ञानिक ढंगले सञ्चालन गर्न पनि निर्देशन दिएका छन् । साथै, बाढी, पहिरो तथा अन्य सम्भावित दोस्रो चरणका विपद्बाट थप क्षति हुन नदिन आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् ।
चीनका प्रधानमन्त्री ली छ्याङले पनि बेपत्ता तथा प्रभावित व्यक्तिहरूको संख्या यकिन गर्न, व्यापक राहत तथा उद्धार अभियान सञ्चालन गर्न र जोखिममा रहेका मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न निर्देशन दिएका छन् ।
उनले चीनको विदेश मन्त्रालयलाई सम्बन्धित देशहरूसँग सूचना आदानप्रदान तथा समन्वय बढाएर उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन आग्रह गरेका छन् । उपप्रधानमन्त्री झाङ कुओछिङको नेतृत्वमा एक टोली घटनास्थलमा पुगेर उद्धार तथा प्रतिकार्यको निर्देशन गरिरहेको छ ।
बाढी तथा पहिरोका कारण चीनतर्फको सीमा क्षेत्रमा सडक, सञ्चार सञ्जाल र विद्युत् आपूर्ति अवरुद्ध भएको छ । चिनियाँ सञ्चारमाध्यमले सार्वजनिक गरेको भिडियोमा ठूलो मात्रामा लेदोयुक्त पानी, रूखका हाँगा तथा अन्य भग्नावशेष बगिरहेको र केही भवनहरू पुरिएको देखिएको जनाएको छ ।
विपद्पछि चीनले लेभल–२ को आपत्कालीन विपद् राहत प्रतिक्रिया र लेभल–२ को भू–वैज्ञानिक विपद् आपत्कालीन प्रतिक्रिया सक्रिय गरेको छ। चीनको चार तहको आपत्कालीन प्रणालीमा यो दोस्रो उच्च तहको प्रतिक्रिया हो ।
चीनका तीन केन्द्रीय सरकारी निकाय– अर्थ मन्त्रालय, आपत्कालीन व्यवस्थापन मन्त्रालय र राष्ट्रिय विकास तथा सुधार आयोगले सिगात्से क्षेत्रमा उद्धार तथा राहतका लागि संयुक्त रूपमा २२ करोड चिनियाँ युआन (करिब ३ करोड ३० लाख अमेरिकी डलर) छुट्याएका छन् ।
आपत्कालीन व्यवस्थापन मन्त्रालयले राष्ट्रिय अग्नि तथा उद्धार बलका २४९ जना जनशक्ति परिचालन गरेको छ । साथै, चाइना एन्नेङ कन्स्ट्रक्सन ग्रुप, पावरचाइना लगायतका सरकारी स्वामित्वका संस्थाबाट थप ३२५ जना इन्जिनियरिङ उद्धारकर्मी परिचालन गरिएको छ ।
उद्धार तथा विस्थापितको व्यवस्थापनका लागि पाल, चुलो, कपडा, कम्बल, फोल्डिङ बेड तथा ओसबाट जोगाउने म्याटसहित ३० हजार थान राहत सामग्री घटनास्थलतर्फ पठाइएको छ ।
स्थानीयस्तरमा सिगात्से अग्नि तथा उद्धार निकायले बुधबार दिउँसोसम्म ७२ वटा सवारीसाधन र ४३१ जना उद्धारकर्मी परिचालन गरेको छ । उनीहरूसँग उद्धार कुकुर, जीवन पत्ता लगाउने उपकरण, उद्धार डुंगा लगायतका आवश्यक सामग्री छन् ।
विद्युत् आपूर्ति पुनःस्थापित गर्न स्टेट ग्रिड सिगात्से इलेक्ट्रिक पावर कम्पनीका पाँच जना प्राविधिकसमेत घटनास्थल पुगेका छन् । उनीहरूले मध्यम भोल्टेजको विद्युत् जेनेरेटर र आपत्कालीन बत्ती लिएर उद्धार क्षेत्रमा रातिको समयमा आवश्यक विद्युत् तथा प्रकाशको व्यवस्था गर्न काम थालेका छन् ।
यसैबीच, स्थानीय मौसम विभागले केरुङ क्षेत्रमा आइतबारसम्म वर्षा जारी रहन सक्ने चेतावनी दिएको छ । तल्लो भू–भागमा बाढी, पहिरो तथा अन्य सम्भावित विपद् आउन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।











प्रतिक्रिया