काठमाडौं । नेपालका लागि यामाहा दुईपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले आजदेखि काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा सुरु भएको नाडा अटो शो २०२६ मा बहुप्रतीक्षित यामाहा एक्सएसआर १५५ को अनावरण गर्ने घोषणा गरेको छ ।
‘बर्न टु स्ट्यान्ड अपार्ट’ अभियानको अवधारणामा केन्द्रित यस कार्यक्रममा नेपालभरका आगन्तुक तथा मोटरसाइकलप्रेमीहरूले पहिलोपटक यामाहाको नयाँ रेट्रो–मोडर्न मोटरसाइकललाई प्रत्यक्ष अनुभव गर्ने अवसर पाउनेछन् । यो मोटरसाइकल सडकमा आफ्नो बेग्लै र विशिष्ट पहिचान बनाउन चाहने तथा परम्परागत स्ट्रिट बाइकभन्दा फरक देखिन चाहने राइडरहरूका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
यामाहा एक्सएसआर १५५ ले कालजयी मोटरसाइकल विरासत र आधुनिक कार्यक्षमताको एक अनुपम सम्मिश्रणलाई प्रस्तुत गर्दछ । यसको मुख्य विशेषताहरूमा आकर्षक टियरड्रप–आकारको फ्युल ट्याङ्क, रेट्रो शैलीबाट प्रेरित सिग्नेचर राउन्ड एलईडी हेडल्याम्प, फ्ल्याट बेन्च–स्टाइल सिट र मिनिमल तथा क्लिन बडीवर्क रहेका छन्, जसले यसलाई शक्तिशाली उपस्थिति र विशिष्ट क्लासिक स्वरूप प्रदान गर्दछ । परिष्कृत १५५ सीसी इन्जिनद्वारा सञ्चालित एक्सएसआर १५५ ले दैनिक सहरी प्रयोग र उत्कृष्ट पर्फर्मेन्सबीच सन्तुलन कायम गर्दछ । यसले क्लासिक संरचनामै आधुनिक सुविधाहरू र प्रविधिलाई समायोजन गरी एक अद्वितीय राइडिङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।
एमएडब्लु ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले भने, “नेपाली बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल मोटरसाइकल भित्र्याउन पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । हाम्रो ‘बर्न टु स्ट्यान्ड अपार्ट’ अभियान व्यक्तिगत पहिचान र शैलीको उत्सव हो । नाडा अटो शो मोटरसाइकल पारखीहरूका लागि एक्सएसआर १५५ प्रत्यक्ष अवलोकन गर्ने र पहिलो चरणका मालिकहरूमध्ये आफ्नो स्थान सुरक्षित गर्ने उत्कृष्ट पहिलो अवसर प्रदान गर्नेछ ।”
अनावरण चरणअन्तर्गत यामाहा नेपालले नाडा अटो शोबाटै आधिकारिक रूपमा विशेष प्रि–बुकिङ खुल्ला गरिने जनाएको छ, जसमा एक्सएसआर १५५ खरिदका लागि ग्राहकहरूले एक महिना अगावै प्रि–बुकिङ गर्नुपर्नेछ । यो सीमित प्रि–बुकिङको व्यवस्था बजारमा व्यापक उपलब्ध हुनुअघि नै उत्साही राइडरहरूलाई प्रारम्भिक कोटामा पहुँच प्रदान गर्न डिजाइन गरिएको हो, जसले यस बाइकलाई व्यक्तिगत शैलीको एक विशेष प्रतीकको रूपमा स्थापित गर्दछ ।
नाडा अटो शोमा सहभागी हुने मोटरसाइकल पारखी तथा अवलोकनकर्ताहरूलाई अगस्ट २५ देखि ३० सम्म दैनिक बिहान १०ः३० बजेदेखि साँझ ६ः३० बजेसम्म भृकुटीमण्डप प्रदर्शनी हलमा यामाहाको स्टल भ्रमण गरी एक्सएसआर १५५ प्रत्यक्ष अनुभव गर्न, उत्पादन विशेषज्ञहरूसँग अन्तरक्रिया गर्न र प्रि–बुकिङ गर्न आमन्त्रण गरिएको छ ।











प्रतिक्रिया