२८ आश्विन २०८३, बुधबार

नेपाल लाइफको दुईदिने ‘बिजनेस एक्सिलेन्स कन्फरेन्स’ सम्पन्न

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दुईदिने ‘बिजनेस एक्सिलेन्स कन्फरेन्स’ सम्पन्न भएको छ । काठमाडौंमा भदौ १ गतेदेखि २ गतेसम्म सञ्चालन भएको सम्मेलन ‘लिड, एस्पायर, इभोल्भ’ नाराका साथ सम्मलेन सम्पन्न भएको कम्पनीले जनाएको छ ।

सम्मेलनमा देशभरबाट सेल्स तथा मार्केटिङ क्षेत्रमा कार्यरत २५० भन्दा बढी कर्मचारीहरूको सहभागिता रहेको थियो ।

कम्पनीका वरिष्ठ सञ्चालकद्वय कमलेशकुमार अग्रवाल, विमलप्रसाद ढकाल, प्रवीणप्रकाश क्षेत्री तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले संयुक्त रूपमा सम्मेलनको उद्घाटन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका वरिष्ठ सञ्चालक कमलेशकुमार अग्रवालले नेपाल लाइफले २५ वर्षको गौरवपूर्ण यात्रा पूरा गर्दै नेपाली जीवन बीमा उद्योगमा विश्वास, स्थायित्व र नेतृत्वको अनुपम इतिहास निर्माण गरेको बताए । उनले कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क संकलन गर्दै अर्को ऐतिहासिक कीर्तिमान कायम गरेको उल्लेख गरे ।

उनले उक्त उपलब्धिका लागि कम्पनीसँग आबद्ध सम्पूर्ण हितधारकहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यही उत्साह, समर्पण र प्रतिबद्धताका साथ कार्य गर्न आग्रह गरे । “आज हामी उच्च उचाइमा छौँ, तर यो उचाइलाई निरन्तर कायम राख्न सबैको संयुक्त प्रयास, मेहनत र साथ आवश्यक छ” भन्दै उनले सधैँ उच्च लक्ष्य निर्धारण गरी एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

सम्मेलनलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले आर्थिक वर्ष २०८२/८३ को कार्यसम्पादनका लागि सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिँदै चालु आर्थिक वर्ष २०८३/८४ को व्यावसायिक लक्ष्य हासिल गर्न सुरुदेखि नै थप सक्रियता, अनुशासन र प्रतिबद्धताका साथ कार्य गर्न आह्वान गरे ।

उनले गत आर्थिक वर्षको व्यावसायिक उपलब्धिको समीक्षा गर्दै चालु आर्थिक वर्ष २०८३/८४ का लागि सेल्स तथा रणनीतिक योजनाहरूका सम्बन्धमा सम्मेलनमा जानकारी गराए ।

“आज हामीले हासिल गरेको उचाइ हाम्रो सामूहिक मेहनत, समर्पण र सहकार्यको परिणाम हो । यो उचाइमा पुग्नु मात्र पर्याप्त छैनस प्राप्त उपलब्धिलाई निरन्तर कायम राख्दै अझ नयाँ उचाइतर्फ अघि बढ्न सबैको एकताबद्ध प्रयास, आपसी सहयोग र निरन्तर प्रतिबद्धता आवश्यक छ” उनले भने ।

सम्मेलनमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत, नेशनल सेल्स हेड, बिजनेस अपरेसन, प्रमुख वित्त अधिकृत, एजेन्सी तथा पोलिसी सर्भिसिङ, एजेन्सी ट्रेनिङ, सूचना प्रविधि, डिजिटल ट्रान्सफर्मेसन तथा मानव संसाधन विभागका प्रमुखहरूले आ–आफ्नो विभागसँग सम्बन्धित कार्यसम्पादन, उपलब्धि, चुनौती तथा आगामी कार्ययोजनाबारे विस्तृत प्रतिवेदन तथा प्रस्तुतीकरण प्रस्तुत गरेका थिए । प्रस्तुतीकरणका क्रममा गत आर्थिक वर्षको प्रगतिको समीक्षा गर्दै चालु आर्थिक वर्षका व्यावसायिक लक्ष्य, रणनीतिक प्राथमिकता, सेवा सुधार, डिजिटल रूपान्तरण, जनशक्ति विकास तथा लक्ष्य प्राप्तिका लागि अपनाइने कार्यदिशाबारे समेत जानकारी गराइएको थियो । साथै, सम्मेलनको अन्त्यमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुली, नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कायल, नेशनल सेल्स हेड उमापति पोखरेल र एचआरबाट सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । साथै, आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यवसायिक प्रदर्शन गर्ने कर्मचारीहरू तथा शाखा एवं उपशाखाहरूलाई विभिन्न १४ विधामा सम्मान तथा अवार्ड प्रदान गरिएको थियो ।

कम्पनीका अनुसार सम्मेलनले नेपाल लाइफसँग आबद्ध कर्मचारीहरूमा नयाँ ऊर्जा, उत्साह र व्यावसायिक प्रतिबद्धता अभिवृद्धि गर्दै आगामी दिनमा कम्पनीको व्यवसायिक लक्ष्य हासिल गर्न थप प्रेरणा प्रदान गरेको छ।