२८ आश्विन २०८३, बुधबार

मुख्यमन्त्रीलाई विश्वासको मत नदिने भन्दै टाप कसेका सात सांसद प्रचण्डको शरणमा पुगेपछि तयार

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत नदिने अडानमा रहेका नेकपाका असन्तुष्ट सांसदहरू अन्ततः आफ्नो निर्णयबाट पछि हटेका छन्। पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेपछि उनीहरू मुख्यमन्त्री थापाको पक्षमा मतदान गर्न सहमत भएका हुन्।

मुख्यमन्त्री थापाले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। त्यसका लागि दिउँसो ४ बजे प्रदेशसभा बैठक बोलाइएको छ।

विश्वासको मतको विषयमा प्रचण्डसँग भएको छलफलपछि असन्तुष्ट सांसदहरूले पार्टीभित्रै आफ्ना माग सम्बोधन गर्ने गरी सहमति जुटेको बताएका छन्।

नेकपाका सांसद गंगानारायण श्रेष्ठका अनुसार भेटका क्रममा मुख्यतः तीनवटा विषयमा छलफल भएको थियो। राप्रपासँगको सहकार्यमा सरकार सञ्चालन गर्ने विषयमा पार्टीको नीतिगत धारणा स्पष्ट हुनुपर्ने माग उनीहरूले प्रचण्डसमक्ष राखेका थिए।

श्रेष्ठका अनुसार बागमती प्रदेशमा रहेका दलका नेता तथा उपनेतालाई समेत सहभागी गराएर केन्द्रीय कार्य संयोजन समितिको बैठकमार्फत यस विषयमा नीतिगत निर्णय लिनुपर्ने प्रस्ताव गरिएको छ।

त्यस्तै, हाल कायम रहेका आठवटा मन्त्रालयको संख्या बढाउन नहुने विषयमा पनि सांसदहरूले आफ्नो धारणा राखेका छन्। मन्त्रालय थपेर सरकार विस्तार गर्न नहुने उनीहरूको सर्त छ।

सरकारमा नेकपा ठूलो दलको हैसियतमा रहेकाले एउटा सभामुख र तीनवटा मन्त्रालय पाउनुपर्ने विषयमा पनि छलफल भएको श्रेष्ठले बताए। उक्तअनुसार वातावरण तयार गर्ने सहमति भएको उनको भनाइ छ।

प्रचण्डले भने तत्काल मुख्यमन्त्रीलाई विश्वासको मत दिएर सरकारलाई अघि बढाउन र बाँकी असहमतिका विषयलाई छलफलमार्फत क्रमशः टुंग्याउँदै जान सुझाव दिएका छन्।

यसअघि मुख्यमन्त्री थापालाई विश्वासको मत नदिने भन्दै नेकपाका केही सांसद काठमाडौंमा बसेका थिए। उनीहरूले पार्टी नेतृत्वसँग छलफलपछि मात्रै आफ्नो निर्णय लिने अडान राख्दै आएका थिए।

प्रचण्डसँग भेट गर्ने सांसदहरूमा गंगानारायण श्रेष्ठ, कृष्ण खनाल, राजेन्द्रमान श्रेष्ठ, युवराज चौलागाईं, रुकु चौलागाईं, लक्ष्मण लम्साल, उर्मिला लामा र ओमकुमारी श्रेष्ठ रहेका छन्।

प्रचण्डसँगको छलफलपछि उनीहरू मुख्यमन्त्री थापालाई विश्वासको मत दिने निर्णयमा पुगेका हुन्।