२८ आश्विन २०८३, बुधबार

‘नाडा अटो शो २०२६’को तयारी पूरा, दुई स्थानमा पार्किङको व्यवस्था

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भोलिदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८ औं नाडा अटो शो २०२६’को सम्पूर्ण तयारी पूरा भएको छ । मोबाइल एसोसिएसन अफ नेपाल (नाडा)ले सोमबार पत्रकार सम्मेलन गरी सम्पूर्ण तयारी पूरा भएको बताएको हो ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार सोमबारसम्ममा २ सय १५ भन्दा बढी स्टलहरु बनिसकेका छन् ।

अध्यक्ष उप्रेतिले गत वर्षहरुको भन्दा यसपाली स्टल फराकिलो र व्यवस्थित रहेको दाबी गरे । प्रदर्शनीस्थल ह्विलचेयरमैत्री छ भने बत्ती, एसी र पंखाहरुको पर्याप्त व्यवस्था गरिएको छ ।

त्यस्तै, प्रदर्शनीस्थललाई चारपाङ्ग्रे, दुईपाङ्ग्रे, वित्तीय संस्था, अटो पाट्र्स र ग्यारेज उपकरण साथै ‘मेड इन नेपाल/मेड फर नेपाल’ प्याभिलियन र इन्टरनेसनल बिजनेस प्याभिलियन गरी पाँच क्षेत्रमा विभाजन गरिएको छ ।

त्यस्तै, अवलोकन गर्न चाहने अवलोकनकर्ताले पहिले सवारीसाधन, त्यसपछि वित्त, बीमा, सर्भिस र पाट्ससम्बन्धी गरी तीन भागमा विभाजन गरी अवलोकन गर्न सक्नेछन् । जसले गाडी किन्नेहरुले खर्च र सुविधाबारे राम्रोसँग जानकारी प्राप्त गर्नेछन् ।

नाडाका अनुसार प्रदर्शनीस्थलमा ५३ सवारी ब्राण्ड, ७० पाट्र्स तथा सेवा कम्पनी र करिब ११ वटा बैंक तथा वित्तिय संस्थाहरुले भाग लिएका छन् ।

‘नाडा अटो शो’ अवलोकनकर्ताहरुको सुविधालाई मध्यनजर राख्दै नाडाले अग्रिम टिकट बुकिङको पनि व्यवस्था गरेको छ । अग्रिम टिकको लागि खल्तीको एप वा आधिकारिक क्यूआर कोडमार्फत टिकट काट्न सकिने व्यवस्था गरेको छ ।

त्यस्तै, सर्वसाधारणहरुको लागि प्रवेश शुल्क २०० र विद्यार्थीका लागि १५० रुपैयाँ रहेको नाडाले जनाएको छ ।

भोलि बिहान साढे १० बजेदेखि सुरु हुने सो कार्यक्रमको उद्घाटन उपराष्ट्रपति रामसायप्रसाद यादवले गर्नेछन् ।

पत्रकार सम्मेलनमा अध्यक्ष उप्रतीले अवलोकनकर्ताको लागि दुई स्थान नेपाल प्रहरी क्लबको ब्लु प्याभिलियनको भूमिगत पार्किङ र सिंहदरबारस्थित नेसनल ट्रेडिङ परिसरमा सवारीसाधनको पार्किङको व्यवस्था गरिएको जानकारी दिए ।

त्यस्तै, प्रदर्शनीस्थलमा ट्राफिक व्यवस्थापन सूचना डेस्क, मिडिया डेस्क, क्याफेटेरिया र आकस्मिक स्वास्थ्य सेवा पनि उपलव्ध रहेको छ ।

त्यसैगरी, सीसीटीभी निगरानी र अग्नि नियन्त्रण प्रणालीको व्यवस्था गरेको नाडाले जनाएको छ ।