२८ आश्विन २०८३, बुधबार

दुर्गा प्रसाईंको घरबाट बरामद सामानसहित लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा प्रहरीले गरेको खानतलासीको विषयमा सर्वोच्च अदालतले प्रहरीसँग स्पष्टीकरण मागेको छ।

प्रसाईंकी पत्नी उमा प्रसाईंले दायर गरेको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीश नृपध्वज निरौलाको इजलासले खानतलासीको कारण र त्यसक्रममा अपनाइएको प्रक्रियाबारे लिखित जवाफ पेश गर्न आदेश दिएको हो।

अदालतले विपक्षीका नाममा बाटोको म्यादबाहेक २४ घण्टाभित्र लिखित जवाफ बुझाउन भनेको छ।

त्यसैगरी, प्रहरीले प्रसाईंको घरमा खानतलासी गर्दा नियन्त्रणमा लिएका तथा बरामद गरेका सबै सामग्रीसहित अदालतमा उपस्थित हुनसमेत आदेश दिइएको छ।

प्रहरीले गत भदौ ४ गते प्रसाईंको घरमा खानतलासी गरेको थियो। उक्त क्रममा बरामद भएका सामग्रीको विवरण तथा खानतलासीको कानुनी आधारसमेत अदालतमा प्रस्तुत गर्नुपर्ने भएको छ।

सर्वोच्चले विशेषगरी भक्तपुर प्रहरीलाई बरामद गरिएका सामग्रीसहित पेसीका दिन अदालतमा उपस्थित हुन निर्देशन दिएको हो।

प्रसाईंकी पत्नीले उनको थुनासहित प्रहरीको कारबाहीलाई चुनौती दिँदै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दायर गरेकी थिइन्। सोही निवेदनमाथिको सुनुवाइका क्रममा अदालतले प्रहरीको खानतलासी र त्यसबाट बरामद सामग्रीसम्बन्धी विवरण माग गरेको हो।

अब प्रहरीले अदालतमा पेश गर्ने लिखित जवाफ र बरामद सामग्रीका आधारमा खानतलासीको कानुनी प्रक्रिया तथा त्यसको औचित्यमाथि थप सुनुवाइ हुने भएको छ।