२८ आश्विन २०८३, बुधबार

एमाले अध्यक्ष, महासचिव र सचिवको बोली एउटै– नेतृत्व फेर्ने हल्ला निराधार

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) मा अध्यक्ष केपी शर्मा ओलीलाई हटाउने तथा केन्द्रीय कमिटी पुनर्गठनका विषयमा पछिल्लो समय फैलाइएको प्रचारबाजी निराधार भएको पार्टी नेतृत्वले स्पष्ट पारेको छ।

अध्यक्ष ओलीसहित महासचिव शंकर पोखरेल र सचिव महेश बस्नेतले अलग–अलग अभिव्यक्तिमार्फत नेतृत्व परिवर्तनको हल्लाको खण्डन गरेका छन्।

अध्यक्ष ओलीले एमालेमा अध्यक्ष हटाउने हल्लालाई “बलेसीबाट खसेको पानीको फोकाजस्तै क्षणिक र निराधार” भएको बताएका छन्। पार्टी नेतृत्व परिवर्तनका विषयमा भइरहेको प्रचार आधारहीन भएको ओलीको भनाइ छ।

त्यसैगरी, एमाले महासचिव शंकर पोखरेलले शनिबार विराटनगरमा बोल्दै अध्यक्ष ओलीलाई फेर्ने भनेर फैलाइएको हल्लामा कुनै सत्यता नभएको बताएका छन्। यस्ता प्रचारबाजी पार्टीको एकता, अनुशासन र संगठन कमजोर बनाउने उद्देश्यले फैलाइएको भ्रम भएको पोखरेलले स्पष्ट पारेका छन्।

एमाले सचिव महेश बस्नेतले पनि अध्यक्ष परिवर्तनको विषयमा भइरहेको प्रचार निराधार भएको बताउँदै पार्टी विधि, नीति र संस्थागत निर्णयअनुसार अघि बढिरहेको धारणा राखेका छन्। उनका अनुसार बाह्य हल्ला र प्रचारले पार्टीको नेतृत्व तथा राजनीतिक दिशामा कुनै प्रभाव पार्न सक्दैन।

अध्यक्ष ओली, महासचिव पोखरेल र सचिव बस्नेतका पछिल्ला अभिव्यक्तिले अध्यक्ष परिवर्तनको हल्लाविरुद्ध एमाले नेतृत्व एउटै स्वरमा उभिएको देखिएको छ।

पार्टी पुनर्गठनको नाममा अध्यक्ष फेर्ने विषयमा फैलाइएको प्रचारलाई एमाले नेतृत्वले अस्वीकार गर्दै पार्टीको एकता, अनुशासन र संगठनलाई थप मजबुत बनाउनेतर्फ केन्द्रित हुने जनाएको छ। साथै, मुलुकका वर्तमान राजनीतिक चुनौतीको सामना गर्दै पार्टीलाई थप एकताबद्ध बनाएर राजनीतिक अभियान अघि बढाउने सन्देश नेतृत्वले दिएको छ।