काठमाडौ । यस वर्षको तीजलाई लक्षित गर्दै चर्चित गायक सुरेश शाहीको स्वरमा ‘आँशु बरर…’ सार्वजनिक भएको छ । नेपाली महिलाका दैनिक भोगाइदेखि पारिवारिक सम्बन्ध र देशको बेरोजगारीसम्मका विषयलाई गीतमा रमाइलो ढंगले समेटिएको छ ।
गायक शाहीको युट्युब च्यानलबाट आइतबार सार्वजनिक गीतमा नवोदित गायिका विनूशा राईको स्वर रहेको छ । गीतको रचना सुमित्रा खड्काले गरेकी हुन् ।
म्युजिक भिडियोमा गायक सुरेश शाही, सुमित्रा खड्का, सुदिपा पाठक र विक्की विश्वकर्माको अभिनय रहेको छ । म्युजिक भिडियोको निर्देशन शेर शाहीले गरेका हुन् ।
गीतमा महिलाले बढ्दो सुनको मूल्यप्रति श्रीमान्सँग गुनासो गर्छिन् । ‘सुनको भाउ बढेर छोइसक्नु भएन’ भन्दै उनले तीजमा गरगहना लगाउने चाहना पूरा गर्न नसकेको पीडा व्यक्त गरेकी छन् । त्यसको जवाफमा श्रीमानले पनि आर्थिक अवस्थाप्रति आफ्नो बाध्यता सुनाएका छन् । गीतको अर्को अन्तरा भने सासू–बुहारी सम्बन्धमा केन्द्रित छ । सासूले दूध नदिएको, बुहारीले घाँस नकाटेकोदेखि घरभित्रको सामान्य भनाभनसम्मलाई गीतले हास्यरसमा प्रस्तुत गरेको छ । अन्ततः ‘सासू–बुहारी नमिलेको घर कहाँ छ ?’ भन्ने भावमार्फत सम्बन्धमा समझदारी आवश्यक रहेको सन्देश दिन खोजिएको छ ।
त्यस्तै, नन्दले लगाउने कुरा र सासूको व्यवहारदेखि श्रीमान्–श्रीमतीबीचको गुनासो पनि गीतमा समेटिएको छ । एउटै कुरा पटक–पटक भन्ने श्रीमान्को बानीदेखि आफूले बोलेका कुरा श्रीमतीले नसुन्नेसम्मका प्रसंगलाई रमाइलो संवादका रूपमा प्रस्तुत गरिएको छ ।
गीतको अन्तिम भाग भने अझै समसामयिक छ । जेठाजू युरोप र देवर अमेरिका पुगे पनि आफ्ना श्रीमान् भने आफ्नै देशमा बेरोजगार रहेको महिलाको गुनासो छ । विदेशमा रहेकाले सम्मान पाउने तर घरभित्रै आफन्तबाट अपहेलित हुनुपर्ने अवस्थालाई पुरुष पात्रले पीडाका रूपमा व्यक्त गरेका छन् ।
तीजको रमझमसँगै महँगी, पारिवारिक सम्बन्ध, बेरोजगारी, वैदेशिक रोजगारी र दाम्पत्य जीवनका साना–ठूला गुनासालाई गीतले एउटै कथामा बुनेको छ ।
गीत लेखिका सुमित्रा खड्काले यो तीजमा आफूहरुको गीतमा महिलाहरुले नाचेर, गाएर भरपुर मनोरञ्जन लिने विश्वास व्यक्त गरेकी छन् ।











प्रतिक्रिया