काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्र अध्यक्ष केपी शर्मा ओलीविरुद्ध भइरहेको आलोचना र गतिविधिप्रति प्रश्न उठाएका छन्। उनले सरकारविरुद्ध सोझिनुपर्ने निशाना पार्टी अध्यक्षतर्फ केन्द्रित भएको भन्दै यसले पार्टीलाई कहाँ पुर्याउने हो ? भन्ने प्रश्न गरेका छन्।
सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै थापाले एमालेका केही सम्मानित नेता तथा केन्द्रीय नेताहरूका पछिल्ला अभिव्यक्ति र विभिन्न अभियानप्रति असन्तुष्टि जनाएका छन्।
उनले नेता अमृतकुमार बोहराको फेसबुक स्टाटस, केशवप्रसाद बडालको ‘बोली फिर्ता लिनुपर्छ’ भन्ने अन्तर्वार्ता, युवराज कार्की लगायतका सार्वजनिक टिप्पणी, बौद्धिक परिषद्का अध्यक्षको नेतृत्वमा भएको भनिएको ‘चिया अभियान’ तथा केन्द्रीय सल्लाहकार परिषद्का सदस्यले टेलिभिजनमा दिएको अभिव्यक्तिलाई उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।
त्यस्तै, एक जना केन्द्रीय सदस्यको ‘ओली हटाउनु एमालेको मिसन हो’ भन्ने भनाइप्रति समेत थापाले प्रश्न उठाएका छन्।
उनले ती अभिव्यक्ति सम्बन्धित नेताहरूका वास्तविक धारणा हुन् कि सञ्चारमाध्यममा तोडमरोड गरी प्रस्तुत गरिएका विषय हुन् भन्ने यकिन गर्न पहिले सम्बन्धित नेतासँग प्रत्यक्ष संवाद गर्नुपर्ने बताएका छन्।
‘सम्बन्धित कमरेडहरूको अध्यक्षसँग भेट भएको छैन भने भेटेर, कुरा भएको छैन भने मोबाइलबाट कल डायल गरी संवाद गरेर, मिडियामा उछालिएको विषयको तरंग र प्रभाव हो भने छेउदेखि टुप्पोसम्म पूरै वाक्य र सन्दर्भ सुनेर तथा विरोधीले चलखेल गर्न खोजेको दुराशय हो भने त्यसलाई रणनीतिक हिसाबले मनन गरेर सही बुझाइ, धारणा र निष्कर्षमा पुग्नु उपयुक्त हुन्छ,’ थापाले लेखेका छन्।
थापाले अध्यक्ष ओलीले प्रयोग गरेको ‘आवारा’ र ‘किर्ना’ जस्ता रूपकलाई आफू वा पार्टीका नेता–कार्यकर्तामाथि लक्षित भएको ठानेर नेतृत्वविरुद्ध आक्रमणको निशाना सोझ्याउनु उचित नभएको बताएका छन्।
पार्टी पुनर्गठनको नाममा अध्यक्ष ओलीले तत्काल पद छाड्नुपर्ने वा उनलाई हटाउनुपर्ने बहसप्रति पनि थापाले प्रश्न गरेका छन्। उनले यस्तो गतिविधि वास्तवमै एमालेको आवश्यकता हो वा बाह्य शक्तिको चाहना हो भन्ने विषयमा समेत गम्भीर भएर सोच्नुपर्ने बताएका छन्।
उनका अनुसार महाधिवेशनबाट निर्वाचित नेतृत्व र अध्यक्षले महाधिवेशनमा प्यानलसहित उम्मेदवारी दिएर प्राप्त गरेको परिणामलाई स्वीकार गर्दै विधानअनुसार अघि बढ्नु उचित हुन्छ।
थापाले नवौं, दशौं र एघारौं महाधिवेशनमा नेतृत्व परिवर्तनको प्रयास असफल भएको प्रसंग उल्लेख गर्दै आगामी दिनमा पनि फागुन २१ को निर्वाचन पराजयको सम्पूर्ण जिम्मेवारी ओलीलाई मात्र दिएर सार्वजनिक निन्दा र विरोधको अभियान चलाउनुबाट पार्टी संस्थागत निष्कर्षमा पुग्न नसक्ने तर्क गरेका छन्।
उनले एमाले र अध्यक्ष ओलीलाई समाप्त पार्न सत्तापक्ष लागेको दाबी गर्दै एमालेभित्रका केही नेताका अभिव्यक्ति सत्ताधारी पक्षसँग मिलेजस्तो देखिनुको कारणबारे समेत प्रश्न गरेका छन्।
अध्यक्षको अभिव्यक्तिमा प्रयोग भएका शब्द, भाषा वा रूपकप्रति असहमति भए प्रत्यक्ष भेटेर वा टेलिफोनमार्फत ध्यानाकर्षण गराउन सकिने भन्दै थापाले नेतृत्वविरुद्ध सार्वजनिक रूपमा अपनाइने यस्तो कार्यशैलीले पार्टीलाई कहाँ पुर्याउने हो भन्ने प्रश्न गरेका छन्।
‘प्रायः जिल्लाहरूमा यस्तो प्रवृत्ति बढाउँदै जाँदा पार्टी कहाँ रहन्छरु’ थापाले प्रश्न गरेका छन्।
यस्तो छ थापाको स्टाटस :
रहस्यमय खलपात्र बालेन साह सरकारविरुद्ध सोझिनुपर्ने तिर र निशाना पार्टी अध्यक्षविरूद्द किन ???
पार्टीका अत्यन्तै सम्मानित नेता अमृतकुमार बोहराको एउटा फेसबुक स्टाटस, केशवप्रसाद बडालको बोली फिर्ता लिनुपर्छ भन्ने अन्तर्वार्ता, युवराज कार्की लगायतको भनिकन सार्वजनिक टिप्पणी, बौद्धिक परिषदका अध्यक्षको अध्यक्ष कमरेडले आफैलाई आवरा भनेकोजस्तो गरी संचालित कथित चिया अभियान, केन्द्रीय सल्लाहकार परिषद सदस्यको ‘ओलीको अनुहार टेलिभिजनमा किन आइरहन्छ ? मान्छे हेर्नै चाहन्नन्’ भनेर टेलिभिजनमै दिएको अभिव्यक्ति र एकजना केन्द्रीय सदस्यको ‘ओली हटाउन’ एमालेको मिसन हो !’ जस्ता टिप्पणी पढ्न पाउँदा उदेक लागेको छ। ती टिप्पणी सम्बन्धित व्यक्तिका सही हुन् कि पानी मिडियाले ‘ओलीलाई घर दिए बापत मुख्यमन्त्री पद उपहार’ भनेर तोडमरोड गरेका भ्रम र दुराशयपूर्ण टिकाटिप्पणीजस्तै एमालेमा अन्तर्ध्वंस मच्चाउन योजनाबद्ध रूपमा गरेको कोशिसकै हिस्सा हुन् ?
सम्बन्धित कमरेडहरूको अध्यक्षसँग भेट भएको छैन भने भेटेर, कुरा भएको छैन भने मोबाइलबाट कल डायल गरी संवाद गरेर, मिडियामा उछालिएको विषयको तरंग र प्रभाव हो भने छेउदेखि टुप्पोसम्म पूरै वाक्य र सन्दर्भ सुनेर तथा विरोधीले चलखेल गर्न खोजेको दुराशय हो भने त्यसलाई रणनीतिक हिसाबले मनन गरेर सही बुझाइ, धारणा र निष्कर्षमा पुग्नु उपयुक्त हुन्छ। व्यक्तिको स्वयं सही धारणा र दृष्टिकोण निर्माणले सार्वजनिक अभिव्यक्तिमा अहं महत्त्व राख्दछ, जसले पार्टी र व्यक्तिको छवि निर्माण गर्दछ।
अध्यक्ष केपी शर्मा ओलीले प्रयोग गरेको ‘मेटाफर, आवरा र किर्ना’ मलाई नै हो, अझ पार्टीका नेता, कार्यकर्तालाई हो जस्तोगरी आक्रमणको तिर सोझ्याउनु बुझक्कड नेता-कार्यकर्ताको सही कार्यतरिका किमार्थ पनि होइन। जहाँसम्म पुनर्गठन भन्दै अध्यक्षले पद छोडिहाल्नुपने, तत्काल छोड्नुपर्ने वा अन्यथा हटाउनुपर्ने र हटाउनेजस्ता क्रियाकलाप के भइरहेका हुन ? के कतिपय साथीहरूको आज मुख्य पार्टी काम नै यहीं भएको हो त ? यो खासमा कसले चाहेको छ- नेकपा (एमाले) ले कि अरू कसैले ? बाहिरी तत्वहरू नसकेकाले चुपचाप छन्, त्यो जिम्मेवारी भित्र सारिएको हो ?
महाधिवेशनले निर्वाचित गरेको नेतृत्व र अध्यक्षले त्यही महाधिवेशनमा प्यानलसहित अध्यक्षदेखि सदस्यसम्म उम्मेदवार भएपछि प्राप्त जयपराजयको परिणामलाई स्वीकार गरेर विधानतस् अघि बढ्नु उचित हुन्छ। नवौं, दशौं र एघारौं महाधिवेशनमा सकेनौं ? अब टोपी हातमा लिएर कुद्दै फागुन २१ को पराजयको एक्लो जवाफदेही उहाँलाई बनाउछौं भनेर सार्वजनिक निन्दा र विरोधको अभियान संचालन गरेर पार्टी संस्थागत रूपमा निष्कर्षमा पुग्न संभव हुन्छ र ? उहाँलाई अध्यक्ष बनाउन यसैगरी लागेको भन्ने ट्याकरेकर्ड छ ? सिंगो सत्ताले अध्यक्ष ओली र एमालेलाई समाप्त पार्न खोजेकै छ, अनि एमालेकै कतिपय नेताहरूका स्वर सत्ताधारीसँग मिलेको किन त ? अध्यक्षको अभिव्यक्तिमा प्रयोग गरिएका पदावली, भाषा, बिम्ब र रूपक बुझ्न समस्या भयो भने टेलिफोन गरेर वा भेटेर सरल भाषामा बोल्न ध्यानाकर्षण गराउँदा भइहाल्छ। तर नेतृत्व र अध्यक्षका सम्बन्धमा यस्तै तरिका र कार्यशैली अपनाउने गरेर पुगिन्छ कहाँरु पुर्याउने कहाँ ? प्राय: जिल्लाहरूमा यस्तो प्रवृत्ति बढ्दै बढाउँदै जाँदा पार्टी कहाँ रहन्छ ?











प्रतिक्रिया