२८ आश्विन २०८३, बुधबार

अहिलेको सरकार कुनै हालतमा पाँच वर्ष टिक्दैन : अध्यक्ष ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार पाँच वर्षसम्म कुनै हालतमा नटिक्ने दाबी गरेका छन् । जनतालाई त्रास र डरमा राख्नुका साथै बहुमतको नाममा मनपरी गरिरहेको बताउँदै अध्यक्ष ओलीले बालेन्द्र साह नेतृत्वको सरकार पाँच वर्ष नपुग्दै ढल्ने बताएका हुन् ।

शनिबार नगरकोटमा आयोजित एमाले बागमती प्रदेश कमिटीको ‘जनसंगठन समन्वय संयन्त्र कार्यशाला’लाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अराजकताबाट आएका शक्तिलाई लामो समय देशको जिम्मेवारी दिन नसकिने बताए । उनले वर्तमान सरकारबाट लोकतन्त्र अपहरित र संविधान मिचिएको समेत बताए ।

‘यो सरकार तपाईंहरूलाई भन्दिएँ, पाँच वर्ष कुनै हालतमा जाँदैन,’ अध्यक्ष ओलीले भने, ‘हाटहुट, लाटलुट, जनतालाई तर्साएर, थर्काएर, बोल्न नसक्ने बनाएर, जेसुकै गरेर, बाकस साटेर ल्याएर बहुमत ल्याएको देखाइयो । बहुमत आयो भन्दैमा पाँच वर्ष लुटमार गर्न दिएको हो र ?’

अध्यक्ष ओलीले सरकार गठनको दिन आफूलाई गिरफ्तार गरेर सर्वसाधारणलाई समेत त्रासमा पार्न खोजिएको बताए ।

‘सरकार बनेको दिन पहिलो निर्णय केपी ओलीलाई समाउने भन्ने गरेर रातभर लगाएर बिहानपख गिरफ्तार गर्‍यो,’ अध्यक्ष ओलीले भने, ‘केपी ओलीलाई त समाइयो, अरूलाई के हो र भनेर थर्कमान गराउन मलाई समाइयो ।’

अध्यक्ष ओलीले वर्तमान सरकारका गतिविधिका कारण जनतामा डर, त्रास र आतंक सिर्जना भएको उल्लेख गरे । कसैलाई जेल हाल्ने, बदनाम गर्ने, सम्पत्ति जफत गर्ने वा बैंक खाता बन्द गराउनेजस्ता गतिविधि भइरहेको बताउँदै उनले सरकारविरुद्ध जनता आफैँ आन्दोलनमा उत्रिनुपर्ने बताए ।

अध्यक्ष ओलीले रास्वपालाई बहुमत दिएकोमा जनतामा पश्चात्ताप सुरु भइसकेको पनि टिप्पणी गरे । उनले पार्टीका नेता–कार्यकर्तालाई सरकारविरुद्धको परिस्थितिका लागि तयारी अवस्थामा रहन निर्देशन समेत दिए ।