काठमाडौं । अभिनेत्री नीता ढुङ्गानाको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्म ‘पार्वती’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार धमाधम बिक्री हुन थालेको छ ।
नेपालमा प्रदर्शनको तयारी अन्तिम चरणमा पुग्दैगर्दा अमेरिका र अष्ट्रेलियाका वितरकहरूले फिल्मको प्रदर्शन अधिकार खरिद गरेका हुन् ।
सार्वजनिक गीत, टिजर तथा प्रचारप्रसार सामग्रीका कारण विदेशमा रहेका नेपाली दर्शकमाझ फिल्मको माग उच्च देखिएपछि वितरकहरूले खरिदमा रुचि देखाएका हुन् ।
निर्माण पक्षका अनुसार यसै साता अष्ट्रेलिया र अमेरिकाका लागि फिल्मको अधिकार बिक्री भइसकेको छ । अष्ट्रेलियामा आगामी ४ सेप्टेम्बरदेखि नमस्ते इन्टरटेन्मेन्टले फिल्म प्रदर्शन गर्दैछ । अष्ट्रेलिया प्रदर्शनको एक सातापछि अर्थात् ११ सेप्टेम्बरदेखि माया डिजिटल युएसएले अमेरिकाका सिनेमा हलहरूमा ‘पार्वती’ रिलिज गर्दैछ ।
फिल्मका निर्माता हरिहर अधिकारीले आकर्षक रकममा अष्ट्रेलिया र अमेरिकाको अधिकार दिइएको जानकारी दिए । नेपाली फिल्मलाई विश्वभरका दर्शकमाझ पुर्याउने अभियानमा यस अन्तर्राष्ट्रिय प्रदर्शनले थप उत्साह थपेको बताउँदै उनले प्रदर्शन हुने शहर तथा थिएटरहरूको विस्तृत विवरण क्रमशः सार्वजनिक गरिने बताए ।
फिल्मको मुख्य भूमिकामा निर्देशक नीता ढुङ्गाना स्वयं छिन् । उनीसँगै अशोक दर्जी, दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल, र दिप्त प्रकाश अधिकारी लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
शिवम् अधिकारीको पटकथा रहेको यस फिल्ममा सुदीप बरालको छायाङ्कन, साहिल खानको सम्पादन तथा टिजर र ट्रेलर कट, र रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ । शंकर पाण्डे कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजर रहेको यस फिल्मका निर्माता हरिहर अधिकारी हुन् ।
नेपालमा एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले वितरण जिम्मा लिएको यस फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ ।
पछिल्लो समय फिल्ममा समावेश ‘तुनाको रेल’ र ‘दिदी भाइ’ गीतहरू चर्चामा छन् ।
नेपालमा भने यो चलचित्र यही भदौ १२ गते शुक्रबारदेखि हलहरूमा प्रदर्शन हुँदैछ ।













प्रतिक्रिया