२८ आश्विन २०८३, बुधबार

‘पार्वती’ले पायो ‘युनिभर्सल’ सर्टिफिकेट, भदौ १२ गतेदेखि हलमा लाग्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नीता ढुङ्गानाको निर्देशनमा निर्माण भएको फिल्म ‘पार्वती’ले चलचित्र केन्द्रीय जाँच समितिबाट ‘युनिभर्सल’ सर्टिफिकेट प्राप्त गरेको छ ।

यो सर्टिफिकेटसँगै अब सबै उमेर समूहका दर्शकले परिवारसहित सिनेमा हलमा गएर फिल्म हेर्न पाउनेछन् ।

आउँदो भदौ १२ गते (शुक्रबार)देखि देशभरका फिल्म हलमा प्रदर्शनमा आउन लागेको ‘पार्वती’ले युनिभर्सल सर्टिफिकेट पाएपछि निर्देशक नीताले खुशी व्यक्त गर्दै सम्पूर्ण परिवारलाई साथमा बसेर फिल्म हेर्न आग्रह गरेकी छन् ।

‘हाम्रो चलचित्र ‘पार्वती’ सानो बाबुनानीदेखि हजुरबुबा–हजुरआमासम्म सबैले हेर्न मिल्ने भएको छ’, नीताले भनिन्, ‘माया, भावना र पारिवारिक सम्बन्धले भरिएको यो चलचित्र हेर्न नभुल्नुहोला ।’

गत बिहीबार सञ्चारकर्मीहरूको उपस्थितिमा सार्वजनिक गरिएको फिल्मको ४ मिनेट लामो ट्रेलरले अहिले चौतर्फी प्रशंसा बटुलिरहेको छ ।

ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत रिलिज गरिएको ट्रेलरलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

अटिजम भएकी दिदी र भाइबीचको कसिलो माया र स्नेहको कथामा बनेको यस फिल्ममा नीता र अशोक दर्जी मुख्य भूमिकामा छन् । उनीहरूका साथमा दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल, र दिप्त प्रकाश अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।