काठमाडौं । सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी)ले आफ्नो उत्पादन ‘डीडीसी घिउ’ विदेशमा बिक्री गर्न थालिएको छ । संस्थानले पहिलोपटक मध्यपूर्वको बजारलाई लक्षित गर्दै ५ सय किलो घिउ दुबई पठाएको हो।
शुक्रबार नेपाल एयरलाइन्सको विमानमार्फत घिउको पहिलो व्यावसायिक खेप दुबई पठाइएसँगै डीडीसीको अन्तर्राष्ट्रिय बजार विस्तार औपचारिक रूपमा अघि बढेको हो।
घिउ निर्यातका लागि डीडीसीले निजी क्षेत्रको कम्पनी रातो र चन्द्र सूर्य इन्टरनेसनल प्राइभेट लिमिटेडसँग व्यावसायिक सम्झौता गरेको छ। सम्झौताअनुसार मध्यपूर्वका विभिन्न मुलुकमा डीडीसीको घिउ पुर्याउने योजना बनाइएको छ।
डीडीसीका महाप्रबन्धक डा। शरण पाण्डेका अनुसार प्रारम्भिक चरणमा वार्षिक ५० हजार किलो अर्थात् ५० टन घिउ विदेश पठाउने सहमति भएको छ। पहिलो खेपका रूपमा शुक्रबार ५ सय किलो दुबई पठाइएको उनले जानकारी दिए।
उत्पादन क्षमता सीमित भएकाले हाललाई ५० टनमा निर्यात सम्झौता सीमित गरिएको पाण्डेले बताए। संस्थानले आगामी दिनमा घिउको उत्पादन बढाउँदै लगे निर्यातको मात्रा पनि क्रमशः बढाउने तयारी गरेको छ।
उनका अनुसार विदेशबाट आउने मागअनुसार आवश्यकता परे हरेक साता पनि घिउ पठाउन सकिनेछ। मध्यपूर्वपछि डीडीसीले अन्य अन्तर्राष्ट्रिय बजारमा समेत आफ्नो उत्पादन विस्तार गर्ने तयारी गरिरहेको छ।
डीडीसीले जापान, दक्षिण कोरिया र चीनको तिब्बतसम्म घिउ पुर्याउने लक्ष्य लिएको छ। पाण्डेका अनुसार आगामी कात्तिकदेखि ती बजारमा समेत डीडीसीको उत्पादन निर्यात गर्ने तयारी भइरहेको छ।
“हामीले भर्खरै सुरुवात गरेका छौँ। अब क्रमशः बजार विस्तार गर्दै जाने हो। त्यसका लागि पर्याप्त कच्चा पदार्थ र उत्पादन क्षमता पनि आवश्यक हुन्छ,” पाण्डेले भने।
डीडीसीले विदेशमा नेपाली दुग्धजन्य उत्पादनको बजार विस्तारसँगै संस्थानको उत्पादन क्षमता बढाउने योजनासमेत अघि बढाएको जनाएको छ।













प्रतिक्रिया