काठमाडौं । युरोपेली मुलुक पोर्चुगलमा बुर्का प्रतिबन्ध लगाउने कानुन लागू भएको छ ।
दक्षिणपन्थी दलहरूको दबाबमा ल्याइएको यस कानुनलाई पोर्चुगलका राष्ट्रपतिले अनुमोदन गरेका छन् । यस कानुनले अब देशभरका सार्वजनिक स्थलहरूमा अनुहार छोप्न निषेध गरेको छ । फ्रान्सपछि पोर्चुगलले बुर्कामा प्रतिबन्ध लगाउने अर्को मुलुक बनेको हो । यसको मुख्य उद्देश्य मुस्लिम महिलाहरूलाई पूरै अनुहार छोप्ने खालको पर्दा (नकाब) लगाउनबाट रोक्नु हो ।
राष्ट्रपति एन्टोनियो जोसे सेगुरोले अनुहारलाई व्यक्तिको पहिचान र अन्तर–व्यक्तिगत अन्तरक्रियाको एक महत्त्वपूर्ण अंग मानिनुपर्ने बताएका छन् ।
स्थानीय सञ्चार माध्यमले यस कानुनको अन्तिम रूपलाई ‘बुर्का कानुन’को नाम दिएका छन् । उल्लेखनीय छ कि केही मुस्लिम महिलाहरू आफ्नो शरीर र अनुहार छोप्नका लागि बुर्का लगाउँछन् । यसै कारणले गर्दा यस कानुनलाई ‘बुर्का कानुन’ भनिएको हो ।
पोर्चुगलको संसदले हालै यो बुर्का कानुन पारित गरेको हो । यसलाई दक्षिणपन्थी सरकारमा आबद्ध दलहरूका साथै अति–दक्षिणपन्थी दलका सांसदहरूको समर्थन प्राप्त भयो, जबकि वामपन्थी दलहरूले यसको विपक्षमा मतदान गरेका थिए ।
यस कानुन अनुसार सार्वजनिक स्थलहरूमा अनुहार छोप्ने वा व्यक्तिको पहिचान गर्न कठिनाइ हुने खालका पहिरन लगाउन निषेध गरिएको छ । साथै, लिङ्ग, धर्म, उमेर वा उत्पत्तिका आधारमा कुनै व्यक्तिलाई अनुहार छोप्न बाध्य पार्नु पनि कसुर मानिने भएको छ । महिला अधिकारको वकालत गर्ने संस्थाहरूले लामो समयदेखि यस्तो कानुनले महिलाहरूले के लगाउनुपर्छ भनि तोकेर उनीहरूको अधिकारलाई कमजोर पार्ने तर्क गर्दै आएका छन् ।
राष्ट्रपति सेगुरोले सामाजिक तथा सांस्कृतिक दृष्टिकोणबाट यो विषय अत्यन्त संवेदनशील रहेको स्वीकार गरेका छन् ।
पोर्चुगलमा यो कानुन उल्लङ्घन गर्नेहरूले १५० देखि ३,००० युरोसम्म जरिवाना तिर्नुपर्ने हुनसक्छ । तर, कानुनले केही विशेष अवस्थामा छुटको व्यवस्था गरेको छ । यसमा स्वास्थ्य, काम, कला वा मौसमसम्बन्धी कारणले अनुहार छोप्नु पर्ने अवस्था समावेश छन् । धार्मिक स्थल, कूटनीतिक नियोग र हवाईजहाजहरूलाई पनि यस कानुनबाट छुट दिइएको छ ।















प्रतिक्रिया