काठमाडौं । रास्वपा सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्रीले बोलाउँदैमा अख्तियार धाउन नहुने बताएका छन् ।
राज्यव्यवस्था सुशासन समितिको बैठकमा बोल्दै सिंहले अख्तियार प्रधानमन्त्री मातहतको संस्था नभएको बताएका हुन् ।
उनले भने, ‘संसदीय समितिमा आउन मिल्छ, अख्तियार प्रधानमन्त्री मातहतको संस्था होइन। त्यसैले अख्तियारका पदाधिकारीहरू कुनै मन्त्री वा प्रधानमन्त्रीले बोलाउँदैमा त्यहाँ धाउनु हुँदैन। अख्तियारको मर्यादा दिनप्रतिदिन समाप्त हुँदै गएको छ। यो प्रवृत्तिको अन्त्य हुनुपर्छ।’
उनले न्यायालय र अख्तियार बिचौलिया उत्पादन गर्ने संस्था बनेको बताए ।
उनले भने, ‘भागबन्डाको राजनीति अन्त्य गरौँ र पूर्व कर्मचारीहरूको क्लब बन्न नदिऔँ। जति संवैधानिक निकाय छन्, ती सबै पूर्व कर्मचारीहरूको क्लब वा आयोग बनेका छन्।’
विगतमा कर्मचारीहरू कारबाहीबाट जोगिन अख्तियार जाने गरेकोमा, अहिले अनुचित लाभका लागि अख्तियार जाने गरेको उनले बताए । त्यस्तै उनले संविधानले नै अख्तियारलाई भ्रष्टाचार र सम्पत्ति छानबिनको पूर्ण अधिकार दिएको अवस्थामा पटक–पटक नयाँ आयोग गठन गर्नुको औचित्यमाथि प्रश्न उठाए ।
राज्यकोषबाट तलब, भत्ता वा पेन्सन लिने मन्त्री, सांसद, मेयर वा प्रशासक जो–कोहीको पनि सम्पत्ति छानबिन गर्ने जिम्मेवारी अख्तियारले नै प्रभावकारी रूपमा पूरा गर्नुपर्नेमा उनले जोड दिएका छन् ।













प्रतिक्रिया