काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको विषयलाई लिएर ओमानमाथि विनाशकारी बमबारी प्रहार गर्ने धम्की दिएका छन् । ट्रम्पका अनुसार यदि होर्मुज जलसन्धिमा अमेरिका र इरानबीचको तनावका क्रममा ओमान बाधक बन्यो भने उनले ओमानमाथि विनाशकारी बमबारी गर्नेछन् ।
ट्रम्पले सोमबार फक्स न्युजसँगको अन्तर्वार्तामा यस्तो बताएका हुन् । अमेरिका र इरानबीचको युद्धविरामको म्याद सकिनु केही दिनअघि मात्र ट्रम्पले ओमानलाई धम्की दिएका हुन् ।
ट्रम्पले भने, ‘यदि ओमानले हस्तक्षेप गर्यो भने हामी उनीहरूमाथि भीषण बमबारी गर्नेछौँ ।’
रिपोर्ट अनुसार, ट्रम्पले सोमबार भएको टेलिफोन वार्ताका क्रममा यो धम्की दिएका थिए ।
ट्रम्पले अमेरिका र इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)बीच गोप्य वार्ता भइरहेको दाबी पनि गरे । तर, त्यसको केही समयपछि नै आईआरजीसीले ट्रम्पको दाबीलाई खण्डन गर्दै आफूले अमेरिकासँग कुनै पनि वार्ता नगरेको जनाएको थियो ।
पछिल्ला केही सातायता होर्मुज जलसन्धि भएर हुने जलयातायातको व्यवस्थापनसम्बन्धी अस्थायी सम्झौतामा पुग्न इरानी कूटनीतिज्ञहरूले ओमानका अधिकारीहरूसँग वार्ता गरिरहेका छन् ।
होर्मुजको नियन्त्रणका सम्बन्धमा इरान र ओमानबीच भइरहेको वार्ताका बारेमा प्रश्न गर्दा ट्रम्पको उक्त प्रतिक्रिया आएको हो ।
ओमानले लामो समयदेखि मध्यपूर्व युद्धमा आफूलाई तटस्थ मुलुकका रूपमा प्रस्तुत गर्दै आएको छ ।
ओमानले अमेरिका र इरानबीचको वार्तामा मध्यस्थकर्ताको भूमिका पनि निर्वाह गरेको छ । युद्ध सुरु भएयता ओमानले दुई देशबीच संवाद सहजीकरण गर्ने भूमिका निर्वाह गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।













प्रतिक्रिया