२९ आश्विन २०८३, बिहिबार

नाडा अटो शो २०२६ भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालको अग्रणी तथा बहुचर्चित अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२६’ आगामी भदौ ९ गतेदेखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा आयोजना हुने भएको छ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्ने प्रदर्शनीको शीर्ष प्रायोजकमा एचपी लुब्रिकेन्ट्स रहेको छ। यस वर्ष नाडा अटो शोको १८औँ संस्करण आयोजना हुन लागेको हो। नाडाको ५०औँ वार्षिकोत्सवको अवसर पारेर यसपटकको प्रदर्शनीलाई ‘स्वर्ण उत्सव संस्करण’ का रूपमा भव्यताका साथ आयोजना गरिने आयोजकले जनाएको छ।

छ दिनसम्म सञ्चालन हुने प्रदर्शनीले नेपालमा तीव्र रूपमा विकसित हुँदै गएको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको समग्र आर्थिक, सामाजिक तथा व्यावसायिक गतिविधिलाई एउटै मञ्चमा प्रस्तुत गर्नेछ। प्रदर्शनीमा अटोमोबाइल कम्पनीहरूले आफ्ना नयाँ सवारीसाधन, प्रविधि, उत्पादन तथा सेवाहरू सार्वजनिक गर्नुका साथै ग्राहक तथा व्यवसायिक सरोकारवालासँग प्रत्यक्ष सम्पर्क स्थापित गर्ने अवसर पाउनेछन्।

आयोजकका अनुसार करिब तीन लाख वर्गफिट क्षेत्रफलमा सञ्चालन हुने प्रदर्शनीमा साना–ठूला गरी २०० भन्दा बढी स्टल रहनेछन्। तीमध्ये २३ वटा ब्रान्डका प्यासेन्जर कार, १७ वटा ब्रान्डका लाइट कमर्सियल भेहिकल, १३ वटा ब्रान्डका दुईपांग्रे सवारीसाधन, १० वटा वित्तीय तथा बीमा सेवा प्रदायक र करिब ७० वटा अटोमोबाइल पार्टपुर्जा, एसेसरिज, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरण तथा अन्य उत्पादन तथा सेवाका स्टल रहनेछन्।

प्रदर्शनीमा नेपालमै एसेम्बल हुने सवारीसाधन, ईभी, ब्याट्री, हेल्मेट तथा अन्य अटोमोबाइल सामग्रीसमेत प्रदर्शन गरिनेछ।

रोबोटदेखि ‘मेड इन नेपाल’ पभिलियनसम्म

यस वर्षको नाडा अटो शोमा जी–वान ह्युमानोइड रोबोट तथा गो–टु क्वाड्रुपेड रोबोट विशेष आकर्षणका रूपमा रहनेछन्। भविष्यमा यातायात तथा प्रविधिको विकास कतातर्फ अघि बढिरहेको छ भन्ने अनुभव आगन्तुकले प्रत्यक्ष रूपमा लिन सक्ने आयोजकको भनाइ छ।

त्यस्तै, ‘मेड इन नेपालरमेड फर नेपाल पभिलियन’ मार्फत नेपालमै उत्पादन भएका सवारीसाधन, ईभी, ब्याट्री, हेल्मेट तथा अन्य कम्पोनेन्टको प्रवर्द्धन गरिनेछ।

प्रदर्शनीमा विभिन्न ब्रान्डका नयाँ–नयाँ मोडल सार्वजनिक गरिने प्रोडक्ट लन्च, स्मार्ट मोबिलिटी, दिगो यातायात, कनेक्टिभिटीमा केन्द्रित सुविधा तथा सुरक्षासम्बन्धी विषयमा सिम्पोजियम पनि आयोजना गरिनेछ।

टिकटमा ५० प्रतिशतसम्म क्यासब्याक

नाडा अटो शो २०२६ को टिकट खल्ती एपमार्फत अग्रिम बुकिङ गर्न सकिने व्यवस्था गरिएको छ। निश्चित अवधिका लागि अग्रिम टिकट खरिद गर्दा ५० प्रतिशतसम्म क्यासब्याक उपलब्ध हुने आयोजकले जनाएको छ।

आगन्तुकको सहजताका लागि प्रदर्शनीस्थलमा दुईपांग्रे, चारपांग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट तथा ग्यारेज उपकरणका लागि छुट्टाछुट्टै प्रदर्शनी क्षेत्र निर्धारण गरिएको छ।

सञ्चारकर्मीका लागि मिडिया डेस्क, ट्राफिकसम्बन्धी जानकारीका लागि ट्राफिक सूचना डेस्क, क्याफेटेरिया तथा आकस्मिक स्वास्थ्य सेवाको समेत व्यवस्था गरिएको छ। महानगरीय ट्राफिक प्रहरीसँगको सहकार्यमा ट्राफिक व्यवस्थापन गरिने आयोजकले जनाएको छ।

पार्किङका लागि नेपाल पुलिस क्लबको ब्लु पेभिलियनअन्तर्गतको इनडोर ग्राउन्ड तथा सिंहदरबारस्थित नेसनल ट्रेडिङ परिसर मा समेत व्यवस्था गरिएको छ।

प्रदर्शनीमा आकस्मिक स्वास्थ्य टोली, सीसीटीभी निगरानी तथा आगलागी नियन्त्रणको व्यवस्था पनि गरिनेछ।

करिब २ लाख आगन्तुक आउने अपेक्षा

नाडाका अनुसार अटो शोमा नेपालका अटोमोबाइल तथा मोबिलिटी क्षेत्रमा भइरहेका नयाँ प्रविधि, उत्पादन र सेवाबारे जानकारी लिन उपभोक्ता, व्यवसायी, उद्योग प्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।

छ दिनसम्म चल्ने प्रदर्शनीमा करिब २ लाख आगन्तुकले अवलोकन गर्ने आयोजकको अनुमान छ।

नाडाले अटोमोबाइलप्रेमी, उद्योगी–व्यवसायी, व्यवसायिक प्रतिनिधि, सञ्चारकर्मी तथा सर्वसाधारणलाई ‘एचपी लुब्रिकेन्ट्स प्रिजेन्ट्स नाडा अटो शो २०२६’ मा सहभागी भई नेपालको मोबिलिटी क्षेत्रमा विकसित भइरहेका नयाँ प्रविधि र प्रवृत्तिको प्रत्यक्ष अनुभव लिन आमन्त्रण गरेको छ।