२८ आश्विन २०८३, बुधबार

२० वर्षदेखि बाख्रालाई छोरीझैँ माया, मृत्युपछि मानिसकैजस्तै अन्त्येष्टि

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बाख्रा पाल्ने किसानका लागि आफ्नो पशु भनेको आम्दानीको माध्यम हुनु सामान्य कुरा हो । तर भारतको मध्य प्रदेशका एक किसानका लागि भने एउटा बाख्रा यति प्रिय बन्यो कि उसको मृत्युमा परिवारको सदस्यकै जस्तो शोक मनाइएको छ ।

विदिशा जिल्लाको सिरोन्जका नवल सिंह मालवीयले २० वर्षसम्म छोरीझैँ पालेको बाख्रा ‘कटोरी उर्फ चमेली’को निधनपछि धार्मिक विधिअनुसार अन्त्येष्टि मात्र गरेनन्, तेह्रौँ दिनको संस्कारमा करिब ५०० जनालाई खाना समेत खुवाए ।

गत ३ अगस्टमा चमेलीको मृत्यु हुँदा नवल सिंहका लागि त्यो सामान्य पशुको मृत्यु थिएन । विगत २० वर्षदेखि घरको सदस्यसरह रहेकी चमेली परिवारसँगै बस्ने, घरभित्रै ओछ्यानमा सुत्ने र परिवारका सदस्यहरूसँग समय बिताउने गर्थिन् । त्यसैले उनको मृत्युले नवल सिंहलाई परिवारकै सदस्य गुमाएजस्तो बनायो ।

चमेलीको अन्त्येष्टि गर्नुअघि नवल सिंहले स्थानीय प्रशासनबाट अनुमति लिए । त्यसपछि धार्मिक परम्पराअनुसार चमेलीको अन्त्येष्टि गरे ।

अन्त्येष्टिपछि उनले चमेलीको अस्तु लिएर पवित्र गङ्गामा पुगे र धार्मिक विधिअनुसार अस्तु विसर्जन गरे ।

चमेलीको सम्झनालाई अझ विशेष बनाउन नवल सिंहले तेह्रौँ दिनको संस्कार पनि मानिसकै मृत्यु संस्कारजस्तै आयोजना गरे ।

उनले शोकपत्र छपाएर १५ अगस्टमा नजिकका आफन्त, टोलछिमेकीलाई बोलाएर करिब ५०० जनालाई खाना समेत खुवाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

नवल सिंहको यो कार्यले अहिले प्रदेशभर चर्चा पाइरहेको छ ।

उनका आफन्त र छिमेकीहरूले एउटा जनावरलाई यति लामो समयसम्म परिवारको सदस्यसरह माया गर्नु र मृत्युमा पनि सम्मानपूर्वक बिदाइ गर्नु भावनात्मक उदाहरण भएको बताएका छन् ।