२८ आश्विन २०८३, बुधबार

सरकारले काम गर्न सकेन, जे गर्न सक्थ्यो त्यही गरिरहेको छ : ओली

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले जे गर्न सक्थ्यो, त्यही गरिरहेको टिप्पणी गरेका छन्।

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपाल केन्द्रीय कमिटीको चौथो पूर्ण बैठकको शनिबार इलामको फिक्कलमा उद्घाटन गर्दै ओलीले जनतामा भ्रम छरेर र देशमा आतंक मच्चाएर सरकार गठन भएको आरोप लगाए । अहिले जनताले सरकारको नाडी छामिसकेको उनको भनाइ थियो ।

“बच्चालाई खान बनाउन लगाउँदा तरकारी कसरी काट्ने भन्ने थाहा हुँदैन । कहिले ननाचेको मान्छेलाई नाच्न लगाउँदा पार काट्दैन । नाच डान्सरकै राम्रो हुन्छ। ” ओलिले भने, “उरेन्ठेउलाहरूले देशलाई अधोगतिको दिशामा पुर्‍याए । उनीहरूलाई देश चलाउन आउँदैन।जलाउन आउँछ । जस्ले जे जानेको छ, त्यही गर्ने हो । ”

ओलीले सरकारले देश र जनताको हितमा काम गर्न नसकेको दाबी गर्दै वर्तमान अवस्थाप्रति व्यंग्य गरेका हुन् । उनले भने, “सरकारले जे गर्न सक्थ्यो त्यही गर्दैछ।”

ओलीले देशमा सबै जातजाति, भाषाभाषी, पेशा र समुदायको समान विकास हुनुपर्ने बताए । मानिसहरूबीच विभेद हुन नहुने उल्लेख गर्दै उनले न्याय, समानता र सामाजिक सद्भाव कायम गरी सुदृढ राष्ट्रिय एकता निर्माण गर्नुपर्नेमा जोड दिए ।

“विविधता छ, विभेद हुनुहुँदैन,” ओलीले भने, “न्याय, समानता र सामाजिक सद्भाव कायम गरी सुदृढ राष्ट्रिय एकता कायम गर्नुपर्ने जिम्मेवारी रहेको छ ।”

उनले धनी–गरिबबीचको ठूलो असमानतालाई समाजको कुरूपता भएको टिप्पणी गर्दै कसैलाई गरिबीमा बाँच्न बाध्य पार्न नहुने बताए । दुर्गम क्षेत्रमा बसोबास गर्ने नागरिकसमेत शिक्षा र स्वास्थ्यबाट वञ्चित हुन नहुने उनको भनाइ थियो ।

सम्पत्ति धेरै–थोरै हुन सक्ने भए पनि नागरिकलाई खान, लगाउन र आवासको चिन्ता नहुने अवस्था निर्माण गर्नुपर्ने ओलीले बताए । उनले नागरिकले सहज र सुविधाजनक जीवन बाँच्न पाउनुपर्ने धारणा राखे ।

“एमालेले समृद्ध नेपाल, सुखी नेपाली किन भनेको भने सुखी, सुरक्षित हुनुपर्छ । सम्मानित र अधिकार सम्पन्न जीवन बाँच्न पाउने अधिकार सुनिश्चित गर्न खोजिएको हो,” ओलीले भने ।

ओलीले नयाँ पुस्ताबारे समेत धारणा राख्दै युवालाई जिम्मेवार, सुशील र अध्ययनशील बनाउनुपर्ने बताए । केही अपराधीका गतिविधिलाई ‘जेनजी’ पुस्तासँग जोडेर गरिएको विध्वंस अराजक भएको उनको आरोप थियो ।

“आगो लगाउने काम नयाँ पुस्ताले गर्दैनन् । नयाँ पुस्तालाई त्यो सिकाउनु हुँदैन,” ओलीले भने । उनले लोकतन्त्रको दुरुपयोग गर्न नहुने भन्दै युवामाथि एमालेको विश्वास रहेको बताए । पुस्ताबीचको अन्तरलाई लिएर समाजमा फाटो ल्याउने प्रयास भइरहेको उनको दाबी थियो ।

ओलीले नेपाललाई समृद्ध बनाउने नीति एमालेको रहेको दोहोर्‍याउँदै आफू प्रधानमन्त्री भएका बेला गरिबी घटेको र चरम गरिबी अन्त्य गर्ने दिशामा काम भएको दाबी पनि गरे । कृषि क्षेत्रमा विषादीमुक्त खेतीलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।

कार्यकर्तालाई सामाजिक सञ्जालमा आउने आलोचनाबाट विचलित नहुन निर्देशन दिँदै ओलीले फेसबुकमा स्टाटस लेखेकै भरमा एमालेलाई पराजित गर्न नसकिने बताए ।

गत फागुन २९ गते सम्पन्न निर्वाचनपछि ओली पहिलोपटक औपचारिक कार्यक्रममा सहभागी हुन इलाम आएका हुन् । एमाले इलामका सह–सचिव रमेश राईका अनुसार ओली शनिबार इलाममै बसेका छन् । इलाम बसाइका क्रममा उनले इलाम, पाँचथर र ताप्लेजुङका अगुवा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम छ ।

आइतबार ओलीले झापाबाट एमालेको ‘मिसन जनजागरण अभियान’ शुभारम्भ गर्ने कार्यक्रम छ । आगामी स्थानीय तह र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी सुरु गर्न लागिएको उक्त अभियान ७ सय ५३ वटै स्थानीय तहका वडा तहसम्म सञ्चालन गर्ने एमालेले जनाएको छ ।