२८ आश्विन २०८३, बुधबार

पार्टी अप्ठ्यारोमा हुँदा नेतृत्व छाडेर हिँड्दिनँ : अध्यक्ष ओली

‘पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्छ’

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी अप्ठ्यारो अवस्थामा रहेका बेला आफूले नेतृत्व छाडेर नहिँड्ने बताएका छन् ।

शनिबार इलाममा लोकतान्त्रिक आदिवासी जनजाति महासंघको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्रैबाट नेतृत्व परिवर्तनको प्रयास भइरहेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

अध्यक्ष ओलीले पार्टी कार्यालयको क्यान्टिनमा बसेर अध्यक्ष हटाउने भन्दै हल्ला चलाइएको बताए । उनले यस्तो गतिविधिले पार्टीमा अनुशासनहीनता र अराजकता बढाउने बताए ।

‘अहिले पार्टीमा अलिकति अनुशासनहीनता देखापरेको छ । पार्टी कार्यालयको क्यान्टिनमा बसेर केहीले हल्ला चलाएका छन्, अध्यक्षलाई हटाउने रे ! कसले हटाउने ? के मजाक हो यो ? यस्तो अराजकता हुन्छ ? कोही हस्ताक्षर गर्दै हिँडेका छन् ।’ ओलीले भने ।

उनले बाहिरबाट पार्टीमाथि प्रहार भइरहेको समयमा पार्टीभित्रैबाट अध्यक्ष हटाउने खेल हुनु दुःखद भएको बताए । यस्तो अवस्थामा पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्ने उनले बताए ।

‘विरोधीले तीव्र प्रहार गरेको छ, हामीलाई झेल्न मुस्किल भइराखेको छ । एकताबद्ध पार्टीले सामना गर्नुपर्ने बेलामा अध्यक्ष हटाउँछौँ भन्या छ । यो केही हुनेवाला होइन ।’ ओलीले भने ।

अध्यक्ष ओलीले आगामी केन्द्रीय कमिटीको बैठकपछि पार्टीलाई थप अनुशासित र एकताबद्ध बनाएर अघि बढाउने बताए । पार्टीमा अनुशासन उल्लंघन गर्ने गतिविधिलाई स्वीकार नगर्ने पनि उनले स्पष्ट पारे ।

उनले पार्टीमा बसेर सामाजिक सञ्जालमा पार्टी र नेतृत्वविरुद्ध जथाभावी लेख्न नपाइने बताए । पार्टीमा बस्ने हो भने विधि, नीति र नियम पालना गर्नुपर्ने उनको भनाइ छ ।

‘पार्टीको विरोध गरेर हिँड्ने, सामाजिक सञ्जालमा जेपायो त्यही लेख्ने कुरा हुँदैन । पार्टीमा बस्ने हो भने पार्टीको अनुशासनमा बस्नुपर्छ । अर्को पार्टीमा जाने हो भने त्यही पार्टीको अनुशासन के के छ, त्यही गरे हुन्छ । चुप लागेर घरमा बस्ने भए बसे हुन्छ । तर पार्टीमा काम गर्ने हो भने अनुशासन चाहिन्छ । कुनै संस्थामा काम गर्दा त्यो संस्थाको नीति, नियम, विधि, अनुशासन पालना गर्नुपर्छ । यो कुरा कार्यान्वयन गरेर गइन्छ ।’ अध्यक्ष ओलीले भने ।

अध्यक्ष ओलीले विधानविपरीत गतिविधि गर्नेहरूमाथि संगठनात्मक कारबाही गरिने चेतावनी पनि दिए ।

केन्द्रीय कमिटीको बैठकपछि पार्टीलाई अझ मजबुत र अनुशासित बनाएर अघि बढाउने अध्यक्ष ओलीको भनाइ थियो ।