काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई नेपालमा ढुक्कसँग लगानी गर्न आग्रह गरेका छन् ।
चीनको ग्वाङझाउ सहरमा शनिबारबाट सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११ औं एसिया प्यासेफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत शुभकामना दिँदै उनले सरकारले लगानीको माहोल बनाउने, देशमै रोजगारीको वातावरण सिर्जना गर्ने, एआई र सूचना प्रविधि क्षेत्रमा काम गर्न प्रोत्साहन गर्ने गरी नीतिगत रणनीतिहरू कार्यान्वयन गरिरहेको भन्दै नेपालमा ढुक्क भएर लगानी गर्न प्रवासी नेपालीहरूलाई आग्रह गरेका हुन् । सरकारले नतिजा देखिने गरी तीव्र गतिमा काम गरिरहेको उनको भनाइ छ ।
बजेटबाट २७ वटा नयाँ कानुनी ऐन ल्याएर लगानीमैत्री वातावरण बनाउन सरकारले काम गरिरहेको उनले बताए ।
अर्थमन्त्री वाग्लेले सम्मानजनक रोजगारी सिर्जना गर्न सरकारले विशेष ध्यान दिएको बताए । बजेटमार्फत आर्थिक राजकाजको जहाज मोडेको र पहिलो वर्ष सुधारको सुरुआत मात्रै गरेको उनले उल्लेख गरे ।
प्रवासको पुँजी र लगानी परिचालनको विषयमा पार्टीको घोषणा पत्रमा पनि उल्लेख भएको र सरकारले पनि विशेष पहल गरिएको उनले बताए । सरकारले रुग्ण उद्योगहरूलाई पनि ब्युँताउँदै गरेको र यसलाई पुनर्ताजगी गरेर सञ्चालनका लागि राम्रो सीप र ज्ञान भएकालाई दिने भन्दै त्यसमा पनि प्रवासले सहभागिता जनाउन सक्ने उनले बताए ।















प्रतिक्रिया