काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफू पार्टी विभाजनको पक्षमा नरहेको स्पष्ट पारेका छन् ।
शनिबार संस्थापन इतर राष्ट्रिय भेलाका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले भेला नयाँ पार्टी खोल्नका लागि नगरिएको भन्दै समयसमयमा पार्टी र विचारलाई परिमार्जित गर्दै लैजान यस्ता भेलाहरू आवश्यक हुने समेत उल्लेख गरे ।
आफू नयाँ पार्टी खोल्ने पक्षमा नरहेको र अदालतबाट विपक्षमा निर्णय आइहाले पनि सबै मिलेर छलफल गरी अगाडिको नीति तय गरिने उनको भनाइ छ ।
उनले पार्टीको आगामी महाधिवेशन शेरबहादुर देउवाकै नेतृत्वमा हुने दाबी गरे । यदि परिस्थिति सोचेअनुरूप नभएमा थप छलफल गरेर आवश्यक निर्णय लिइने उनले बताए ।
त्यस्तै, नेता कोइरालाले बहुमत भएता पनि सरकारले कुनै ठोस, नयाँ वा उल्लेखनीय काम गर्न नसकेको टिप्पणी गर्दै वर्तमान सरकारलाई सामान्य ‘कामचलाउ’ सरकारको संज्ञा दिए ।
उनले वर्तमान सरकार ५ वर्ष टिक्ने वा बीचमै मध्यावधि चुनावमा जाने सम्भावनालाई राजनीतिमा नकार्न नसकिने धारणा राखे ।













प्रतिक्रिया