काठमाडौं । भारतले आफ्नो ८० औं स्वतन्त्रता दिवसका लागि राजधानी नयाँदिल्लीमा सुरक्षा व्यवस्था अत्यन्त कडा पारेको छ । विशेषगरी प्रधानमन्त्रीको सम्बोधन हुने ऐतिहासिक लाल किल्ला तथा त्यस आसपासका क्षेत्रमा सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार शनिबार स्वतन्त्रता दिवसका दिन हुनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सरकारले आतंकवादविरोधी प्रतिकार्य योजनासमेत कार्यान्वयनमा ल्याएको छ । समारोहलाई सुरक्षित, व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने उद्देश्यले विभिन्न सुरक्षा निकायबीच समन्वय बढाइएको छ ।
दिल्ली प्रहरीले स्वतन्त्रता दिवस समारोहको सुरक्षाका लागि २० हजार बढी सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ । लाल किल्ला समारोहस्थल आसपासका क्षेत्र, प्रमुख प्रवेशद्वार, संवेदनशील स्थान तथा भीडभाड हुने क्षेत्रमा सुरक्षा निगरानी थप कडा पारिएको छ ।
सुरक्षा निगरानीका लागि यसपटक अत्याधुनिक प्रविधिको समेत व्यापक प्रयोग गरिएको छ ।
सुरक्षा निगरानीका लागि यसपटक अत्याधुनिक प्रविधिको समेत व्यापक प्रयोग गरिएको छ । लाल किल्ला आसपासमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) आधारित एक हजारभन्दा बढी सीसीटीभी क्यामरा जडान गरिएको बताइएको छ । यी क्यामेराले मानिसको गतिविधि र भीडको अवस्थालाई निरन्तर निगरानी गर्नुका साथै भिडियो एनालिटिक्स प्रविधिमार्फत सम्भावित जोखिम पहिचान गर्न सहयोग गर्नेछ ।
एआई प्रविधियुक्त सीसीटीभी क्यामराले भीडमा देखिने असामान्य गतिविधि, शंकास्पद व्यक्ति तथा बेवारिसे वस्तु पहिचान गर्नसक्ने बताइएको छ । यसबाट सम्भावित जोखिमलाई प्रारम्भिक चरणमै पहिचान गरी आवश्यक सुरक्षा कारबाही अघि बढाउन सहज हुने बताइएको छ ।
त्यस्तै, आकाशबाट हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै एन्टी–ड्रोन प्रणाली समेत परिचालन गरिएको छ । संवेदनशील क्षेत्रको हवाई निगरानीलाई प्रभावकारी बनाउन सुरक्षा निकायहरूले विशेष सतर्कता अपनाएका छन् ।
सुरक्षा व्यवस्थापनमा कुनै कमजोरी नरहोस् भन्ने उद्देश्यले सुरक्षा निकायहरुले बिहीबार संयुक्त रूपमा मक ड्रिल (नमुना अभ्यास) समेत गरेका थिए ।
भारतको स्वतन्त्रता दिवस प्रत्येक वर्ष १५ अगस्टमा मनाइन्छ । मुख्य समारोह शनिबार लाल किल्लामा आयोजना हुनेछ ।
समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लाल किल्लाको प्राचीरबाट देशबासीका नाममा सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्रीको सम्बोधन तथा मुख्य समारोहलाई ध्यानमा राख्दै दिल्लीका विभिन्न क्षेत्रमा सुरक्षा जाँच, आवतजावत व्यवस्थापन र निगरानीलाई थप कडाइ गरिएको छ ।
प्रधानमन्त्रीको सम्बोधन तथा मुख्य समारोहलाई ध्यानमा राख्दै दिल्लीका विभिन्न क्षेत्रमा सुरक्षा जाँच, आवतजावत व्यवस्थापन र निगरानीलाई थप कडाइ गरिएको छ । सुरक्षा निकायले समारोहमा सहभागी हुने सर्वसाधारण तथा विशिष्ट व्यक्तिको सुरक्षा सुनिश्चित गर्न बहुस्तरीय सुरक्षा घेरा निर्माण गरेको जनाएको छ ।













प्रतिक्रिया