२९ आश्विन २०८३, बिहिबार

नेपाल टेलिकमको पोस्टपेड सिम अब अनलाइनबाटै नामसारी गर्न सकिने

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल टेलिकमको जीएसएम पोस्टपेड मोबाइलका ग्राहकहरुले अब नामसारी गर्नका लागि आवश्यक सम्पूर्ण विवरण अनलाइनमार्फत भर्नसक्ने भएका छन् ।

टेलिकमका अनुसार कुनै एक व्यक्तिको नाममा भएको पोस्टपेड सिमकार्ड अर्को व्यक्तिको नाममा नामसारी गर्नका लागि आवश्यक सम्पूर्ण विवरण भरेर अन्त्यमा नामसारी दस्तुर उपलब्ध गराउन र आवश्यक प्रमाणीकरणका लागि मात्र नजिकको दूरसञ्चार कार्यालयमा उपस्थित हुनु पर्नेछ ।

ग्राहकहरुले कस्टमर लगइन पोर्टलमार्फत आवश्यक विवरण भर्नसक्ने छन् । उक्त पोर्टल लगइन गरेर मोबाइल नम्बर राखेपश्चात ओटीपी प्राप्त हुनेछ र त्यसपछि हालको ग्राहक र नामसारी गर्नुपर्ने नयाँ ग्राहकको व्यक्तिगत विवरणहरु उपलब्ध गराउनु पर्नेछ । यसका साथै गत एक महिनाको अवधिमा कल गरिएका ५ वटा मोबाइल नम्बर समेत राख्नुपर्छ ।

कम्पनीका अनुसार सबै विवरण भरिसके पश्चात प्रमाणीकरणका लागि नजिकको टेलिकमको कार्यालय वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुपर्छ । नामसारीका लागि आवश्यक दस्तुर तिरेर र सक्कल नागरिकताका साथ आफू वा प्रतिनिधिमार्फत नामसारीका लागि अन्तिम प्रमाणीकरण गर्न सकिनेछ ।

यसबाट अनलाइन रुपमा पहिले नै आवश्यक विवरण भरेर पोस्टपेड सिम नामसारी गर्न सहज हुने टेलिकमले जनाएको छ ।

कार्यालयमा उपस्थित हुन नसक्ने सेवाग्राहीहरुले प्रतिनिधिमार्फत अन्तिम प्रमाणीकरण गर्न समेत सकिने भएकोले नामसारी कार्य थप सहज हुने कम्पनीको विश्वास छ ।

हाललाई अनलाइन नामसारी कार्य व्यक्तिगत ग्राहकका लागि मात्र उपलब्ध छ । कर्पोरेट ग्राहकहरुले भने नामसारीका लागि कार्यालयमै उपस्थित हुनुपर्ने कम्पनीले जनाएको छ ।