काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा आफ्नो वित्तीय प्रदर्शनमा उल्लेख्य सुधार गर्दै खुद नाफा ६३.०५ प्रतिशतले बढाएको छ ।
बैंकले सार्वजनिक गरेको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा १ अर्ब २८ करोड ७१ लाख रुपैयाँ थियो ।
नाफामा भएको उच्च वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि उल्लेख्य सुधार भएको छ । अघिल्लो वर्ष ८.६८ रुपैयाँ रहेको ईपीएस बढेर १३.५३ रुपैयाँ पुगेको छ । यसले बैंकको आम्दानी क्षमतामा उल्लेख्य सुधार आएको देखाउँछ ।
बैंकको नाफा वृद्धिमा इम्पेयरमेन्ट चार्जमा आएको ठूलो गिरावटले महत्वपूर्ण भूमिका खेलेको छ । अघिल्लो आर्थिक वर्षमा करिब २ अर्ब ६८ करोड रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज चालु आर्थिक वर्षमा घटेर ८२ करोड ९४ लाख रुपैयाँमा सीमित भएको छ । अर्थात् यस्तो खर्च करिब ६९.०५ प्रतिशतले घटेको हो । यसले बैंकको खुद नाफामा प्रत्यक्ष सकारात्मक प्रभाव पारेको देखिन्छ ।
यस्तै, घट्दो ब्याजदरको वातावरणमा बैंकले स्रोत लागत व्यवस्थापनमा समेत सुधार गरेको छ । बैंकको निक्षेप लागत ४.४९ प्रतिशतबाट घटेर ३.३६ प्रतिशतमा आएको छ । साथै, नेट शुल्क तथा कमिसन आम्दानी ६.३३ प्रतिशतले बढेको छ भने नेट ट्रेडिङ तथा अन्य सञ्चालन आम्दानी ५२.१२ प्रतिशतले वृद्धि भएको छ ।
यसैगरी, बैंकको व्यवसायको आकार पनि विस्तार भएको छ । आर्थिक वर्षको अन्त्यसम्म ग्राहकबाट संकलित निक्षेप २ खर्ब ३७ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो निक्षेप २ खर्ब ११ अर्ब ३१ करोड रुपैयाँ थियो ।
यस अवधिमा कर्जा तथा सापटी १ खर्ब ७० अर्ब १४ करोड रुपैयाँ पुगेको छ भने बैंकको कुल सम्पत्ति २ खर्ब ६८ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ ।
बैंकको सम्पत्ति गुणस्तरतर्फ पनि सुधार देखिएको छ । बैंकको निष्क्रिय कर्जा (एनपीएल) अनुपात अघिल्लो वर्षको ४.८९ प्रतिशतबाट घटेर ४.५८ प्रतिशतमा आएको छ ।
तर, २ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा कमाएको बैंकको वितरणयोग्य मुनाफा भने ५२ करोड ३१ लाख रुपैयाँ मात्र रहेको छ । नेपाल राष्ट्र बैंकको नियामकीय व्यवस्था, वैधानिक विनियोजन तथा विभिन्न समायोजनका कारण खुद नाफा र वितरणयोग्य नाफाबीच फरक हुने बताइएको । बैंकले डेफर्ड ट्याक्स एसेट्स (डीटीए) बापत करिब ४३ करोड ३८ लाख रुपैयाँ नियामकीय प्रयोजनका लागि वितरणयोग्य नाफाबाट समायोजन गरेको जनाएको छ ।













प्रतिक्रिया