काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’मा अवलोकनकर्ताको उल्लेख्य सहभागिता देखिएको छ ।
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको एक्स्पोको दोस्रो दिन पनि अवलोकनकर्ताको व्यापक सहभागिताले मेलास्थल भरिभराउ बनेको हो ।
मेलास्थल पुगेका अवलोकनकर्ताले आफूलाई मनपरेका कार छानीछानी बुक गरिरहेको पाइएको छ । एक्स्पोमा सहभागी कम्पनीहरुका अनुसार महँगा र सस्ता कार तथा मोटरसाइकलमा अवलोकनकर्ताको समान रुचि देखिएको छ ।
काठमाडौंको डिल्लीबजारबाट मेला अवलोकन गर्न आएका दिनेश महर्जनले नाइमा एक्स्पो आफ्नो क्षमताअनुसारका कार बुक गर्ने महत्वपूर्ण अवसर भएको बताए ।
‘म नाइमा एक्स्पोकै अवसर पारेर कार किन्ने सोचमा थिएँ’ बुधबार दिउँसो ३ बजे मेला स्थलमा भेटिएका उनले भने, ‘धेरै ब्रान्डका आकर्षक मूल्य र फिचरसहितका गाडी देख्दा छनोट गर्न निकै सकस परिरहेको छ । बिहान साढे ११ बजेदेखि अहिलेसम्ममा १८–२० वटा गाडी चढिसकेँ होला ।’
मेलामा ठूलो संख्यामा मानिसहरुले कयौं ब्रान्डका गाडी चढेर सुविधा हेरिरहेका र बुझिरहेकाहरु थिए । अवलोकनकर्ताहरुले खासगरी ब्याट्री क्षमता, मोटर, रेन्ज, आफ्टर सेल्स सर्भिसलगायत विषयमा चासो राखेका छन् ।
कम्पनीहरुले पनि ग्राहक आकर्षित गर्न विभिन्न सुविधा उपलब्ध गराएका छन् । उनीहरुले मूल्यमा छुट, एक वर्षको बिमा, एक वर्षको सवारी कर, फ्रि सर्भिसिङ, न्यून दरमा कर्जा जस्ता सुविधा दिएका छन् ।
बुधबार दोस्रो दिन पनि विभिन्न ब्रान्डका चार नयाँ मोडल सार्वजनिक भएका छन् । पहिलो दिन मंगलबार विभिन्न ब्रान्डले ४८ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका थिए ।
त्यस्तै, बुधबार २६ हजारभन्दा बढीले मेला अवलोकन गरेका छन् । उद्घाटनको दिन मंगलबार २९ हजारभन्दा बढीले मेला अवलोकन गरेका थिए । मेला अवधिभरमा करिब डेढ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो संस्करणको एक्स्पो ६ दिन अर्थात् साउन ३१ सम्म चल्नेछ ।
एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता रहेको छ । एक्स्पोमा नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि अन्य नयाँ मोडलका विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन मुख्य आकर्षणका रूपमा रहेका छन् ।
एक्सपोमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले सवारी खरिदका लागि विशेष अफर तथा सहुलियत कर्जा उपलब्ध गराइरहेका छन् ।













प्रतिक्रिया