काठमाडौं। लामो समयदेखि नेपाली बजारमा प्रतीक्षा गरिएको टाटाको नयाँ विद्युतीय कम्प्याक्ट एसयूभी पञ्च ईभी नेपालभरका आधिकारिक शोरुमबाट एकैपटक सार्वजनिक गरिएको छ।
टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौंमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मार्फत पञ्च ईभी सार्वजनिक गरेसँगै देशका विभिन्न शहरमा रहेका आधिकारिक शोरुमबाट पनि यसको औपचारिक बिक्री सुरु गरेको हो।
पञ्च ईभी बिर्तामोड, विराटनगर, इटहरी, वीरगञ्ज, पोखरा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज र धनगढीलगायतका शहरमा रहेका टाटाका आधिकारिक शोरुमबाट एकैपटक सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार नयाँ पञ्च ईभीको नियमित सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। तर, नाइमा मोबिलिटी एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकले विशेष योजनाअन्तर्गत ३२ लाख ९९ हजार रुपैयाँमै यो गाडी खरिद गर्न सक्नेछन्।
त्यस्तै, एक्स्पो अवधिमा बुकिङ गर्ने ग्राहकलाई कम्पनीले ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी उपलब्ध गराउने जनाएको छ।
सिप्रदी ट्रेडिङका प्यासेन्जर भेहिकल बिजनेस युनिट प्रमुख सावन्त जङ्ग सिजापतिले पञ्च ईभीप्रति नेपाली ग्राहकको सुरुवाती आकर्षण उत्साहजनक रहेको बताए। उनका अनुसार गाडीको बुकिङमा समेत ग्राहकको राम्रो प्रतिक्रिया देखिएको छ।
उनले बुकिङ भएका गाडीमध्ये ३२ लाख ९९ हजार रुपैयाँको सुरुवाती मूल्यमा उपलब्ध हुने मोडलसहितका गाडीहरू केही दिनभित्रै ग्राहकलाई हस्तान्तरण गरिने जानकारी दिए।
नेपालभर एकैपटक सार्वजनिक गरिनुले पञ्च ईभीलाई देशका विभिन्न क्षेत्रका ग्राहकसम्म सहज रूपमा पुर्याउने कम्पनीको योजना देखाएको छ। नयाँ विद्युतीय एसयूभीप्रति ग्राहकको बढ्दो चासोका बीच आकर्षक मूल्य, लामो वारेन्टी र देशव्यापी बिक्री सञ्जाललाई कम्पनीले यसको प्रमुख आकर्षणका रूपमा अघि सारेको छ।













प्रतिक्रिया