काठमाडौं । कुमारी बैंक लिमिटेडले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नवजात शिशु तथा बालबालिकाको सघन उपचार सेवा सुदृढीकरणका लागि उक्त रकम प्रदान गरेको हो। सहयोग रकम हृदय रोगबाट पीडित नवजात शिशु तथा बालबालिकाको उपचारमा आवश्यक स्वास्थ्य सेवा र उपकरण व्यवस्थापनमा प्रयोग गरिने बैंकले जनाएको छ।
देशभरबाट उपचारका लागि आउने आर्थिक रूपमा विपन्न तथा जोखिममा रहेका बालबालिकालाई समेत विशेषज्ञ सेवा दिँदै आएको केन्द्रमा पछिल्लो समय बिरामीको चाप बढ्दै गएको छ। सघन उपचार सेवाको आवश्यकता बढेकाले उपचार प्रणालीलाई थप प्रभावकारी बनाउन सहयोग गरिएको बैंकको भनाइ छ।
कुमारी बैंकले स्वास्थ्य सेवा सबै नागरिकको आधारभूत अधिकार भएकाले आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका समुदायको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। बैंकका अनुसार यस सहयोगले बालबालिकाको उपचार सेवाको गुणस्तर सुधार तथा स्वास्थ्य सेवामा पहुँच विस्तारमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
‘समुदायका लागि कुमारी बैंक’ भन्ने अवधारणाअनुसार बैंकले स्वास्थ्यसँगै शिक्षा, वित्तीय साक्षरता, वातावरण संरक्षण र सामुदायिक विकासका क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको छ।
बैंकले हाल देशभर २८५ शाखा, ४१ विस्तारित काउन्टर, ३०२ एटीएम तथा ४० शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिइरहेको छ।













प्रतिक्रिया