काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई सम्मान गरेको छ। कम्पनीको व्यवसाय विस्तार, बीमा सेवाको प्रवर्द्धन तथा ग्राहक सेवामा उल्लेखनीय योगदान पुर्याएका अभिकर्तालाई सम्मान गरिएको हो।
बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियरमा शुक्रबारदेखि आइतबारसम्म आयोजित कार्यक्रममा देशभरबाट उत्कृष्ट कार्यसम्पादन गरेका अभिकर्ताहरूको सहभागिता रहेको थियो। कम्पनीका प्रमुख कार्यकारी अधिकृतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरूलाई सम्मानपत्र तथा मायाको चिनोसहित सम्मान गरिएको हो ।
कार्यक्रममा ‘एमडीआरटी’ अर्थात् ‘मिलियन डलर राउन्ड टेबल’ हासिल गर्न सफल अभिकर्ता, ‘मेगा स्टार’ उपाधि प्राप्त अभिकर्ता तथा वरिष्ठ अभिकर्ता व्यवस्थापकलाई सम्मान गरिएको थियो। उनीहरूले कम्पनीको व्यवसायिक वृद्धि, बीमा सेवाको विस्तार र ग्राहकसम्म सेवा पुर्याउन गरेको योगदानको कदरस्वरूप सम्मान गरिएको हो।
कार्यक्रममा प्रा.डा. भगवान कोइराला र डा. विष्णुप्रसाद रेग्मीले स्वास्थ्य, जीवन तथा पेशागत विकाससँग सम्बन्धित उत्प्रेरणामूलक प्रस्तुति दिएका थिए। प्रस्तुतिले सहभागी अभिकर्तालाई व्यक्तिगत तथा व्यावसायिक जीवनमा थप प्रेरणा प्रदान गरेको कम्पनीले जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृतले अभिकर्ताहरूलाई कम्पनीको सफलताको महत्वपूर्ण आधारका रूपमा उल्लेख गर्दै उनीहरूको निरन्तर मेहनत, व्यावसायिक प्रतिबद्धता र ग्राहकप्रतिको उत्तरदायित्वको प्रशंसा गरे।
उनले आगामी दिनमा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्तालाई थप प्रोत्साहन गर्दै यस्ता सम्मान कार्यक्रमलाई निरन्तरता दिइने बताए। कार्यक्रममा बीमा व्यवसाय विस्तारका सम्भावना, आगामी व्यावसायिक रणनीति तथा ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्ने विषयमा समेत छलफल भएको थियो।
त्यसैगरी, सहभागी अभिकर्ताबीच अनुभव आदानप्रदान तथा सफलताको यात्राबारे अन्तरक्रियात्मक सत्र सञ्चालन गरिएको थियो। कम्पनीले अभिकर्ताको क्षमता विकास, उत्प्रेरणा र व्यावसायिक उत्कृष्टतालाई प्राथमिकतामा राख्दै बीमा क्षेत्रको विकासमा निरन्तर योगदान गर्दै आएको जनाएको छ।













प्रतिक्रिया