–सञ्जय खड्का
सिंह छैन, सिंहदरबार किन ? ‘अडिग छु’ अरे !
अहङ्कारको यो कस्तो खूंखार अवतार ?
कसरी निस्किए ती निर्लज्ज शब्द मुखबाट,
जसले शहीदको रगतलाई पनि अपमान गर्यो !
सिंहदरबार जलायौ, लासमाथि पदको पगरी गुथ्यौ !
अब के इतिहास नै मेट्नुपर्यो ?
इतिहास नै मेट्न खोज्ने तिमी,
कस्ता कुपुत्र हौ यो पवित्र माटोका ?
कि आकाशबाट खसेको एलियन हौ ?
के खान्छौ, भात खान्छौ कि घाँस ?
कसको वैशाखी टेकेर विषालु बोली ओकल्दै छौ ?
कसको स्वार्थरुपी इसारामा नाच्दै छौ ?
देश जलेको खरानी अझै कम भयो र ?
शहीदको त्यो बलिदानी संख्या पुगेन र ?
कि अझै पुगेन संसदीय अंकगणितको संख्या ?
हरिहीन हरिज्यू ? हेक्का राख–
इतिहास बनाउन पठाएका हौँ,
इतिहासको इतिश्री गर्न होइन ।
व्यवस्था मन नपरे– परिवर्तन गर,
कानुन परिमार्जन गर, संविधान संशोधन गर,
देश नै मन नपरे– पद छोड, देशै छोड,
सिंहदरबार त जलायौ–जलायौ,
तर कृपया– अब इतिहास नजलाऊ,
हाम्रो स्वाभिमान र शहीदको सपनामा आगो नलगाऊ ।
पदसँग चरित्र नसाट, कुर्सीसँग विवेक नबेच,
जनमतको आडमा अहङ्कार प्रदर्शन गर्ने दुस्साहस नगर,
कर्तव्य त भुल्यौ–भुल्यो, कम्तिमा पदको मर्यादा त राख ।
हामीलाई ‘जान्ने’ चाहिएको हो, ‘बढी जान्ने’ होइन ।
आत्मालोचना गर, पश्चताप गर, याद राख–
सत्ता स्थायी हुँदैन, तर चरित्रको दाग सजिलै मेटिँदैन ।
नत्र इतिहासले तिम्रो नाम एउटा ‘भूल’ लेख्नेछ,
नाम मेटिने छैन, तर कलंक बनेर रहेनछ,
त्यसैले उठ, सम्हाल र क्षमा माग ।
किनकि यो देश र इतिहास तिमीभन्दा धेरै ठूलो छ,
तिम्रो अस्थायी पद र अहम्कारभन्दा उच्च छ,
हेक्का राख– सच्चिने यही अन्तिम एक मौका छ ।











प्रतिक्रिया